काठमाडौं – आज (सोमबार) बस्ने तय भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सरेको छ ।
दिउँसो १ बजे कोटेश्वरस्थित पेरिसडाँडामा बस्ने गरी हिजो सकिएको बैठक भोली (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
नेकपा सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार भोली मंगलबार १२ : ३० बजेसम्मका लागि बैठक स्थगित भएको छ ।
हिजो (आईतबार) नेकपा सचिवालय बैठक पूर्व माओवादी केन्द्रको पार्टी कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा पहिलोपटक बसेको थियो । गत शुक्रबार पेरिसडाँडामा नै बस्ने तय भएको बैठक स्थगित गरि हिजो बसेको थियो ।
दुई अध्यक्षबीच स्पष्ट कार्यविभाजन भएपछिको यो पहिलो सचिवालय बैठक हिजो बसेको हो । पार्टी एकताको २८ महिनापछि पहिलोपटक हिजो (आईतबार) पेरिसडाँडामा बसेको बैठक भोली फेरि बालुवाटार मा नै बोलाईएको छ ।
सचिवालयको हिजोको बैठकले यसअघि बालुवाटारमा बसेको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले गरेका निर्णयहरु कार्यान्वयन पक्ष, केन्द्रीय तथा प्रदेशस्तरीय मन्त्रिपरिषद्को पुनर्गठन, पार्टी र सरकारका कामकारवाही लगायतका विषयमा छलफल भएर ४ वटा विषयमा घनिभूत छलफल गरेर अघि बढ्ने निर्णय गरेको थियो ।
बैठकले मन्त्रिपरिषद्को पुनर्गठनबारे स्थायी कमिटी बैठकको निर्णयअनुसार नै गर्ने निर्णय गरेको थियो । यसका लागि सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे विभिन्न कोणबाट सुझाव दिएको छ ।
यस्तै संवैधानिक राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णयका लागि आधार तयार गर्न आग्रह गरेको छ ।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठकले सांगठनिक एकीकरणका बाँकी कार्यभार पूरा गर्नेबारे कार्यसूची बनाएको छ ।
उनले थपे, “बैठकको चौथो निर्णय विविध शिर्षकमा भएको छ । यसअन्र्तगत स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति र त्यससँगसँगै केन्द्रीय समिटीका सदस्यलाई सहयोग र कारबाहीका विषयमा पनि छलफल भएको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया