२६ बुँदे घोषणापत्र जारी गर्दै एनआरएनए दोस्रो विश्व स्वास्थ्य सम्मेलनको समापन

लण्डन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्को दोस्रो विश्व स्वास्थ्य सम्मेलन आइतवार सम्पन्न भएको छ । शुक्रवारदेखि आयोजना गरिएको उक्त सम्मेलन २६ बुँदे विश्व नेपाली स्वास्थ्य घोषणापत्र जारी गर्दै सम्पन्न भएको हो ।

सम्मेलनले घोषणापत्रमाथि व्यापक छलफल गरेको थियो । त्यसमा विज्ञ तथा सरोकारवालाले सुझाव दिएका थिए । विज्ञ तथा सरोकारवालाहरुको सुझावअनुसार घोषणापत्रमा आवश्यक कुराहरु थप गर्दै लैजाने समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले बताए । “धेरै विज्ञ, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुले आफ्नो अभिव्यक्ति दिनुभएको छ । सो टिप्पणीअनुसार बाँकी कुराहरुलाई हामी समावेश गर्दै लैजान्छौँ”, उनले भने । घोषणापत्रले विश्वभरि छरिएर रहेका स्वास्थ्यकर्मीहरुलाई एकै ठाउँमा समेट्ने प्रयास गरेको डा। सापकोटाले उल्लेख गरे ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलनले तयार गरेको घोषणापत्रमा डाक्टर, नर्स, फिजिसियनलगायत विश्वभरि छरिएका सबै स्वास्थ्यकर्मीलाई एकै ठाउँमा समेट्ने उल्लेख गरिएको छ । त्यस्तै स्वास्थ्यकर्मीको भूमिका, आपसी समझदारीलगायत विषयसमेत घोषणापत्रले समेटेको छ ।

घोषणापत्रले नेपाली नर्सहरु, तथा मानसिक रोग विशेषज्ञहरुको विश्वव्यापी सञ्जाल निर्माणमा जोड दिएको छ । जडीबुटीजन्य औषधिको उत्पादन तथा विकासमा जोड दिइएको छ । त्यस्तै मातृशिशु स्वास्थ्य, बालबालिका, किशोरकिशोरी तथा युवावस्थाको स्वास्थ्यलगायत विषय घोषणापत्रमा समावेश गरिएको छ । प्राकृतिक प्रकोपका लागि स्वास्थ्यकर्मीहरुको समिति, दीर्घरोग व्यवस्थापन समितिलगायत विषय घोषणापत्रमा समेटिएका छन् ।

सामाजिक चेतना अभिवृद्धिका लागि सबै स्वास्थ्यकर्मी एकजुट हुनसमेत घोषणा पत्रले आह्वान गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय, सरकारी, गैरसरकारी, स्थानीय निकायलगायत सबैसँग समन्वय गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रस्तुत गरिएको छ ।

कार्यक्रमको समापन सत्रमा डा दिनेश ज्ञवाली, डा चन्द चटौत (सिकागो), डा भूपेश खड्का, डा कुश श्रेष्ठ (अस्ट्रेलिया), डा. बोधराज सुवेदी (पोल्याण्ड), डा सुरज थापा ९नर्वे०, डा निकिता पाठक, डा लक्ष्मण पोखरेल, डा रमेश खोजु, डा सरिता भट्टराई, डा इशान अधिकारी, डा सुनिल शाह, डा भुपेन्द्र खड्का, डा नवराज केसी, डा निस्हिता पाठक, डा ड्रोना रसाइली (क्यानडा), डा सरोज निरौला (क्यानडा) , डा पुरु श्रेष्ठलगायतले आफ्नोे धारणा प्रस्तुत गरेका थिए ।

त्यस्तै एनआरएनए आइसीसीका को–चेयर सत्यनारायण चौधरी, यस्मिन बेगम सइद, मञ्जु सङ्ग्रौला, एकनाथ खतिवडा, किरन सापकोटा, दोना पाण्डे, रजनी प्रधान, गोविन्द श्रेष्ठ (सिकागो), जनक बराल, मुकुन्द केसी (दक्षिण अफ्रिका), सुन्दरी लामा (नर्स स्पेन), विमला सापकोटा एनआरएनए युथ संयोजकलगायतले आफ्नोे धारणा राख्नुभएको थियो ।

जारी घोषणापत्र काजगमा मात्रै सीमित हुन नदिन कार्यान्वयन पक्षमा जोड दिनुपर्ने अधिकांशको धारणा थियो । यसमा सरकारको भूमिका कम देखिएकाले सरकारलाई पनि घचघच्याउँदै जानुपर्ने विचार अधिकांशले व्यक्त गरेका थिए ।

दोस्रो विश्व स्वास्थ्य सम्मेलन समापन समारोहमा विभिन्न मुलुकमा रहेका २०० भन्दा बढी स्वास्थ्यकर्मी, सरोेकारवाला तथा विज्ञहरुको सहभागिता थियो । पचासभन्दा बढी स्वास्थ्यकर्मी, विज्ञ तथा एनआएएनएका पधाधिकारीहरुले आफ्नो धारणा राखेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?