गौतम मन्त्री बन्न पाउने कि नपाउने ?

नेकपा सचिवालय बैठकमा प्रतिनिधिसभा पराजित तर राष्ट्रिय सभा चुनावमा विजयी भएका नेताहरू मन्त्रिपरिषद्मा सहभागी हुन पाउने कि नपाउने भन्नेबारेमा लामो छलफल चलेको कान्तिपुर दैनिकमा खबर छ  ।

‘प्रतिनिधिसभामा पराजित भएको मान्छेले राष्ट्रिय सभामा आउन मिल्छ कि मिल्दैन भन्ने कुरा उठ्यो, छलफलको अधिकांश समय यही विषयमा गलफती गरेर बित्यो,’ स्रोतले भन्यो, ‘संविधानअनुसार मन्त्री हुन नपाइने भनेर बाहिर चलेका हल्ला चिर्नुपर्छ भन्ने भएको छ ।’ अध्यक्ष पुष्पकमल दाहालले एजेन्डा प्रवेश गराउँदै यो विषयलाई पार्टीभित्र स्पष्ट पार्नुपर्ने बताएका थिए । ‘राष्ट्रिय सभामा निर्वाचित भएर सांसद भइसकेपछि मन्त्री बन्ने बाटो खुलेको छ भन्ने मेरो बुझाइ हो,’ उनले भने, ‘तर मिल्दैन भनेर आम रूपमा कुरा उठिसकेपछि बहस गरेर कुरा स्पष्ट पारौं ।’

वरिष्ठ नेता नेपालले आफ्नो प्रसंग निकाल्दै हारेका व्यक्ति पनि आवश्यक ठान्दा पार्टी हितका लागि निर्णयमा पुग्नुपर्ने भएकाले संविधानले मन्त्री बन्न स्पष्ट बाटो खुला गरेको अवस्थामा अनावश्यक खिसिटिउरी गर्न नहुने बताए ।
‘बाहिरी देशहरूमा प्रतिनिधिसभामा हारेको मान्छे राष्ट्रिय सभामा चुनाव जितेर प्रधानमन्त्री पनि भएका छन् । कहीँ नभएको नियम नेपालमा मात्रै छ । त्यसलाई सच्याउनुपर्छ,’ उनले भने ।

उपाध्यक्ष वामदेव गौतमले आफूलाई मन्त्री बनाउने प्रस्ताव अध्यक्षद्वयकै भएको बताउँदै अहिले यस्ता विषय निकालेर ‘मोरल डाउन’ गर्न खोजेको गुनासो गरेका थिए । ‘पार्टीको निर्णयमा म सांसद भइसकेपछि मेरो विषयमा डिफेन्स गर्ने काम पनि पार्टीकै हो,’ उनले बैठकमा भनेका थिए, ‘मन्त्री बनाउन्नँ भन्नुहुन्छ भने पनि म तयार छु तर विषय के हो त्यो स्पष्ट पार्नॅपर्‍यो ।’

प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभामा पराजित भइसकेपछि राष्ट्रिय सभा सदस्य भए पनि त्यो कार्यकालभर मन्त्रिपरिषद्मा सहभागी हुन पाइँदैन भनेर आफूले नभनेको स्पष्ट पारे । ‘मैले जानै हुन्न, मिल्दै मिल्दैन भनेर त कतै भनेको छैन,’ उनले भनेका थिए, ‘संविधानले हुँदैन भनेर कतै भनेको छैन तर कुरा उठेकाले कानुनविद्हरूसँग छलफल गरेर स्पष्ट हुनुपर्छ होला ।’ उपप्रधानमन्त्री पोखरेलले पनि कुरा उठिसकेकाले कानुनी क्षेत्रका विज्ञहरूसँगै छलफल गरेर स्पष्ट हुनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?