वर्ष ७६ को मदन पुरस्कार ‘महारानी’ लाई

काठमाडौं – वर्ष – २०७६ को मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि चन्द्रप्रकाश बानियाँलाई प्रदान गरिने मदन पुरस्कार गुठीले जनाएको छ ।

गुठीका अध्यक्ष कुन्द दीक्षितले आज (आईतबार) सामाजिक सञ्जाल ट्वीटमार्फत् यो खबर सार्वजनिक गरेका हुन् । उनले जगदम्बा श्री सम्मान गायिका तथा संगीतकार शान्ति ठटाललाई प्रदान गरिने जानकारी दिएका छन् ।

“मदन पुरस्कार गुठीको साधारण सभा बैठकले वर्ष २०७६ को जगदम्बा श्री श्री शान्ति ठटालज्यूलाई तथा मदन पुरस्कार ‘महारानी’ उपन्यासका लागि श्री चन्द्रप्रकाश बानियाँज्यूलाई अर्पण गर्ने निर्णय गरेको छ।” उनले लेखेका छन् – ‘यसपटक मदन पुरस्कारका लागि विमल निभाको ‘जोकरको बन्दुक’, तीर्थ श्रेष्ठको ‘धर्सैधर्साको चक्रव्यूह’, भुवन ढुङ्गानाको ‘परित्यक्ता’, योगी धर्ममहारसको ‘महारसनिघण्टु (खण्ड १ – ३)’, चन्द्रप्रकाश बानियाँको ‘महारानी’, ललित बिष्टको ‘मोहपथ’ र शारदा शर्माको ‘यात्रामा’ सूचीमा परेको थियो। पुरस्कारका लागि १५१ पुस्तकको आवेदन परेको थियो।’

चार लाख रुपैयाँ राशीको यो पुरस्कारका लागि मदन पुरस्कार गुठीले साउन २१ गते सात वटा किताब सार्वजनिक गरेको थियो। प्राप्त १५१ पुस्तकमध्येबाट बढीमा उत्कृष्ट १० पुस्तकको सूची तयार गर्न गठन भएको समितिले सात पुस्तकहरूको सूची गुठीलाई उपलब्ध गराएको थियो ।

मदन पुरस्कार नेपाली कृतिलाई प्रदान गरिने प्रसिद्ध पुरस्कार हो। मदन पुरस्कार गुठीले यो पुरस्कार प्रत्येक वर्ष प्रदान गर्ने गर्दछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?