नेकपा सचिवालय बैठक : केन्द्रीय सदस्यहरुलाई नियमित आर्थिक सहयोग गरिने

काठमाडौं । आज बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी केन्द्रीय सदस्यहरुलाई नियमित आर्थिक सहयोग गर्ने एजेण्डा तय गरेको छ ।

पार्टी एकिकरणपछि आज पहिलो पटक पेरिसडाँडामा बसेको बैठकले त्यसको साथसाथै विभिन्न ४ विषयहरुमा छलफल गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

“आजको बैठकले केही कारबाहीका एजेण्डाहरु अघि सारेको छ । पहिले गरिएका कारबाहीका विषयमा छलफल साथसाथै केन्द्रीय समितिका सदस्यहरुलाई नियमित रुपमा आर्थिक सहयोग गर्नेबारे पनि एजेण्डा राखिएको छ । पूर्णकालिन कार्यकर्ताहरुलाई तलदेखि माथिसम्म कुनै न कुनै ढंगले पहिले कम्युनिस्ट पार्टीले प्रयोग गर्दै आएको नीति हो । प्रदेश वा जिल्ला वा त्यो भन्दा तलको हकमा सम्बन्धित कमिटिहरुले नै छलफल गर्ने कारणले सचिवालयले केन्द्रिय सदस्यहरुलाई के गर्ने भन्नेबारे छलफलको एजेण्डा तय गरेको छ ।” उनले भने ।

त्यस्तै पूर्णकालिन कार्यकर्तालाई कुनै न कुनै रुपमा सहयोग गर्ने पार्टीको नीतिअनुसार कसरी अगाडी बढ्न सकिन्छ भन्ने विषयमा छलफल गरी निर्णय हुनेछ ।

त्यस्तै आजको बैठकले सांगठिन एकिकरणको बाँकी कामहरुको पुरा गर्ने सन्दर्भमा छलफलहरु भएको छ । बैठकमा संवैधानिक आयोगमा गरिने नियुक्तीका विषयमा छलफल गरिने, स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेका सदस्यहरुको पदपूर्तिका विषयमा समेत एजेण्डा तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?