काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोली (सोमबार) पनि सचिवालय बैठक डाकेको छ ।
आज विभिन्न ४ विषयमा निर्णय गरेको सचिवालयले यिनै विषयमा घनिभूत छलफलका लागि भन्दै भोली (सोमबार) फेरि बैठक बोलाएको हो ।
***
पार्टी एकताको २८ महिनापछि पहिलोपटक कोटेश्वरस्थित पेरिसडाँडामा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले ४ वटा निर्णय गरेको छ ।
बैठकले मन्त्रिपरिषद्को पुनर्गठनबारे स्थायी कमिटी बैठकको निर्णयअनुसार नै गर्ने निर्णय गरेको छ । यसका लागि सचिवालयले मन्त्रिपरिषद् पुनर्गठनको मापदण्डबारे विभिन्न कोणबाट सुझाव दिएको छ ।
यस्तै संवैधानिक राजनीतिक नियुक्तिका बारेमा सरकारलाई निर्णयका लागि आधार तयार गर्न आग्रह गरेको छ ।
सचिवालय सदस्य तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारी अनुसार सचिवालय बैठकले सांगठनिक एकीकरणका बाँकी कार्यभार पूरा गर्नेबारे कार्यसूची बनाएको छ ।
उनले थपे, “बैठकको चौथो निर्णय विविध शिर्षकमा भएको छ । यसअन्र्तगत स्थायी र केन्द्रीय कमिटीमा पदपूर्ति र त्यससँगसँगै केन्द्रीय समिटीका सदस्यलाई सहयोग र कारबाहीका विषयमा पनि छलफल भएको छ ।”
असोज २ गते (शुक्रबार) का लागि बोलाईएको बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको व्यस्तताका कारण आज (आइतवार)का लागि सारिएको थियो। यसअघि प्रधानमन्त्री निवास बालुवाटार र पार्टी कार्यालय धुम्बाराहीमा हुने गरेको बैठक यसपटक अध्यक्ष पुष्पकमल दाहालले डाकेका हुन् । पेरिसडाँडामा कडा सुरक्षाकाबीच बैठक सम्पन्न भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया