बजारमा अनुगमन टोली : कतै सामान बरामद, कतै बिक्रिमा रोक !

काठमाडौं । राजधानीको गोङ्गबु चोक नजिकै मिल सञ्चालन गर्ने श्रेष्ठ राइस एण्ड चिउरा मिलमा भएको २०० बोरा चामल बिक्रिमा रोक लगाइएको छ ।

श्रेष्ठ राइस एण्ड चिउरा गोङ्गबु प्रिन्ट गरिएका ३० के. जी. तौलमा भरिएका चामलको उत्पादन मिति, उपभोग्य मिति, मिल, खुद्रा वा अधिकतम मूल्य नराखिएको, खरिद बिक्री बिल नभएको र मिलको परिचय पाटी नराखिएकोले बिक्रीमा रोक लगाइएको हो । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले आजै दिउँसो १ मिल सञ्चालकलाई कागजातसहित कृषि बिभागमा बोलाएको छ ।

यसैगरी बालाजु चोककै छेउमा रहेको ढकाल आलु तथा सब्जी भण्डारका सञ्चालक पण्डितप्रसाद ढकालले ११० रुपैयाँ प्रति के. जी प्याज बेचिरहेका पाइएको छ । प्याज किन महङ्गो नि? अनुगमन टोलीका प्रतिनिधिले प्रश्न गर्दा सञ्चालकले उत्तर दिए, ‘मैले नै १०० रुपैयाँ प्रति किलोमा किनेर ल्याएको हुँ । यति भन्दै उनले गोकर्णेश्वर नगरपालिका वडा ५ जोरपाटीमा रहेको नन्देश्वरी आलु प्याज तथा गल्ला भण्डारले २० बोरा प्याजको बिल देखाए । ११ सय किलो प्याजको प्रतिकिलो १०० रुपैयाँका दरले १ लाख १० हजार रुपैयाँ बिलमा उल्लेख थियो । अनुगमन टोलीले नन्देश्वरी भण्डारका सञ्चालकलाई पनि बिभागमा बोलाएको छ ।

आजको अनुगमनका क्रममा गोपीकृष्ण खाद्य उद्योगबाट बजार पठाउन तयार गरिएको ठूलो प्लाष्टिकको थैलीमा राखिएका करीब २५ प्याकेट पानीपुरी र हरिशरण ढकालले स्कुटरमा राखेर बेच्दै हिँडेका १५ प्याकेट खुल्ला चाउमिन बरामद गरेर नष्ट गरिएको छ ।

यसै गरी सानो भर्‍याङमा सञ्चालित माँ भवानी ट्रेडर्सको सञ्चालक रञ्जन गुप्तालाई मूल्य सूची नराखेको, खरिद बिक्री बिल अद्यावधिक नगरेको, म्याद सकिएका सामान राख्ने ठाउँ नबनाएकोले आवश्यक कागजपत्रसहित कार्यालयमा उपस्थित हुन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?