काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि वाग्मती सफाइ अभियानलाई भने निरन्तरता दिइएको छ । वाग्मती सफाइ महाअभियानको ३८४ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपतिमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरियो । पशुपति क्षेत्र पर्यटकलाई आकर्षित गर्ने गरी सफा हुन नसकेको उनले सुनाए । पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रको सफाइमा ध्यान दिन नसकेको अभियानकर्मीको गुनासो छ ।
शङ्खमूलमा भने अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । त्यस क्षेत्रमा जम्मा भएको फोहर भौतिक दूरी कायम गरी सफाइ गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले जानकारी दिए । सफाइमा नदी किनार र सडकमा पसल व्यवसाय गरी बस्नेलाई पनि सहभागी गराइएको थियो । सफाइमा अभियानकर्मी प्रिया लामिछाने, रामशरण कार्की, चक्रबहादुर चन्द, बानेश्वर महिला वातावरण सेवाका सञ्चालक दुर्गा दुलाल, हनुमान टोल विकास समितिका पदाधिकारी एवं सदस्यको पनि सहभागिता रहेको उनले बताए ।
सफाइसँगै गुर्जो वितरण, रोपण अभियान
आलोकनगर सफाइको १८३ औँ हप्तामा त्यस क्षेत्रमा जनचेतनामूलक अभियान सञ्चालन गरियो । कार्यक्रममै निःशुल्क गुर्जो वितरण अभियानकर्मी कमलबहादुर राजलवटलगायतका अभियानकर्मीले गुर्जोको बिरुवा वितरण गरेका थिए । त्यस क्षेत्रको नदी किनारका साथै मठ मन्दिरमा पनि गुर्जो रोपणसमेत गरेको अभियानकर्मी प्रमिलो पौडेलले जानकारी दिए ।
उत्तरी खण्ड चक्रपथ सफाइको १८३ औँ हप्तामा सामाखुसीबाट बसुन्धरा क्षेत्रमा सफाइ गरिएको छ । सफाइबाट दुई क्विन्टल एक रिक्सा फोहर सङ्कलन गरिएको सफाइ संयोजक लोकबहादुर टण्डनले जानकारी दिए । सफाइमा रोटरी क्लब अफ काठमाडौं डाउन टाउनका अध्यक्ष श्याम पराजुलीलगायतको सक्रियता थियो । सफाइकै अवसरमा सफाइ अभियानकर्मी किशोर जोशीले कोरोनाका महामारीबाट बच्न अपनाउनुपर्ने आयुर्वेदिक पद्धतिका विषयमा जानकारीमूलक प्रस्तुति दिएका थिए ।
सो अवसरमा गुर्जो रोपण अभियानमा सक्रिय राजलवटले सफाइस्थलमै बिरुवासमेत हस्तान्तरण गरेका थिए । उनले हालसम्म ६० हजार गुर्जोका बिरुवा निःशुल्क रुपमा वितरण गरेका छन् । गुर्जो मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने वनस्पति हो । निषेधाज्ञा खुलेपछि आज सफाइमा विगतभन्दा बढी अभियानकर्मी देखिन्थे । कोरोनाको महामारी कायमै रहेकाले दूरी कायम गर्दै सुरक्षाका विधि अपनाएर सफाइमा सहभागी भएको देखिन्थ्यो ।
रक्तदानमा सफाइ अभियानकर्मी
चक्रपथ पश्चिमखण्ड सफाइको १७१ औँ हप्तामा रक्तदान कार्यक्रम आयोजना गरिएको सफाइ अभियानकर्मी ताराबहादुर कुँवरले जानकारी दिए । कार्यक्रममा २७ जनाले रक्तदान गरेका छन् । कोरोनाका कारण रक्तदान गर्नेको सङ्ख्या घटेकाले अभियानका रुपमा अघि बढाइएको हो । अभियानले यो तेस्रोपटक रक्तदान आयोजना गरेको हो । यसअघिका दुईपटकको रक्तदानमा क्रमशः २४ र २८ जनाले रक्तदान गरेका थिए । हालसम्म ७९ जनाले रक्तदान गरेको उनले जानकारी दिए । कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले पनि रक्तदान गरेका थिए ।
गुह्येश्वरीमाथिको वाग्मती, विष्णुमती, रुद्रमती, मनोहरा, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । कोरोनाको महामारी कायमै रहेकाले नदी किनारमा निवास रहेका अभियानकर्मीले मात्र नदीमै गएर सफाइ गरेका थिए । अभियानकर्मी गोविन्द काफ्लेले शुक्रबार नै अभियानकर्मीका समूह सञ्जालमा सूचना जारी गर्दै नदी किनारभन्दा टाढा हुनेले आ–आफ्नो टोल सफाइ गरी जनचेतनामूलक अभियान चलाउने गरी सूचना जारी गरेका थिए ।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो । महाअभियान शुरु भएपछि यसका सहायक नदी हुँदै हाल देशभरका १०६ भन्दा बढी स्थानमा सफाइ अभियान जारी रहेको जनाइएको छ । कोरोनापछि भने भौतिक दूरी कायम गर्दै अभियानकर्मीले सफाइलाई निरन्तरता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया