‘वलात्कार’ मुद्दामा परिवारकै असहयोग, प्रहरी चकित

राजविराज, २६ फागुन- काकाकी छोरीलाई बलात्कारपछि घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले थालेको अनुसन्धानमा पीडित परिवारबाटै असहयोग भएको छ । बलात्कारपछि हत्या गरिएकी नाबालिकाकी आमा रमिलादेवीले अभियुक्त छुटाउन उच्च अदालत राजविराजमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी हुन्, कान्तिपुरमा खबर छ  ।‘आफ्नी छोरीको हत्या र बलात्कारका आरोपीलाई छुटाउन आमा नै अगाडि आएपछि हामी चकित भयौं,’ अनुसन्धानमा संलग्न सप्तरीका एक प्रहरी अधिकृतले भने । बलात्कार र हत्या गरेको आरोपमा पक्राउ गरिएका राजदेवलाई छुटाउन रमिलाले इलाका प्रहरी कार्यालय कल्याणपुर, इलाका इन्चार्ज र जिल्ला अदालतसमेतलाई विपक्षी बनाई मुद्दा दायर गरेकी थिइन् ।मुद्दामा उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश मोहनबहादुर कार्कीले बन्दी र लिखित जवाफसहित बाटोको म्यादबाहेक ४८ घण्टाभित्र उपस्थित हुन विपक्षीका नाममा आदेश जारी गरेका थिए ।विपक्षी प्रहरीले सरकारी वकिल कार्यालयमार्फत जवाफ पेस गरेपछि बसेको अदालतको इजलासले पक्राउ परेका राजदेव मण्डललाई जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दामा थुनुवा पुर्जी दिई राखिएको, जिल्ला अदालतबाट म्याद थप गरिएको र अनुसन्धानका लागि मण्डललाई न्यायिक हिरासतमा राखिएको देखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने अवस्था नरहेको आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?