‘सिरियामा ५ सयभन्दा बढी नेपाली युवती’

काठमाडौँ, २६ फ़गुन- द्वन्द्वग्रस्त सिरियामा थुप्रै संख्यामा नेपाली युवती कामको खोजीमा पुगेका छन् । उनीहरूको संख्या कति छ, कस्तो हालतमा छन् र के गरिरहेका छन् भन्ने विवरण भने कसैसँग छैन । द्वन्द्वका क्रममा हजारौं सिरियालीको मृत्यु भएको स्थितिमा त्यहाँ रहेका नेपालीको अवस्थाबारे सरकार बेखबर छ । तेजी र मायाको मृत्युको खबरपछि भने दूतावासले सम्पर्कसूत्रमार्फत सिरियामा रहेका नेपालीबारे खोजी सुरु गरिएको जनाएको छ ।द्वन्द्वग्रस्त क्षेत्रमा नेपाली रहेको जानकारी आएपछि थप बुझ्ने प्रयास भइरहेको इजिप्टस्थित राजदूत झविन्द्र अर्यालले टेलिफोनमा जानकारी दिए, कान्तिपुरमा खबर छ  । ‘त्यहाँ सम्पर्क व्यक्ति चयन गरी नेपालीहरूको संख्या यकिन गर्ने काम भइरहेको छ । कति छन् भन्ने सरकारलाई जानकारी छैन,’ उनले भने ।सरकारले सिरिया वैध रूपमा जान प्रतिबन्ध लगाएको छ । ‘मानव तस्करहरूले अवैध रूपमा विभिन्न बहाना मिलाएर घरेलु कामदार सिरिया पुर्‍याउने गरेका छन्,’ राजदूत अर्यालले भने, ‘यसलाई रोक्न सरकारले थप प्रयास गर्नु आवश्यक छ ।’ सिरिया मात्र होइन, लेबनान र अन्य अफ्रिकी मुलुकमा समेत नेपाली युवतीहरू घरेलु कामदारका रूपमा पुर्‍याइएको उनले बताए । ‘घरेलु कामबाहेक अन्य क्षेत्रमा नेपाली छैनन्,’ उनले भने ।सम्पर्कसूत्रमार्फत आएका सूचनाहरूका आधारमा दूतावासले त्यहाँ ५ सयभन्दा बढी नेपाली युवती घरेलु कामदारका रूपमा कार्यरत रहेको आकलन गरेको छ । मानव तस्करको प्रलोभनमा परेर सिरिया पुग्ने क्रम अझै नरोकिएको जानकारी दूतावासले परराष्ट्र मन्त्रालयलाई गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?