काठमाडौँ । छोरा भनेर भारतीय नागरिकलाई नागरिकता दिलाएका सर्लाही बरथवहा नगरपालिका – २ घर भई हाल सर्लाही हरिवन नगरपालिका–१० ताईवान सुकुम्वासी टोल बस्ने ५२ वर्षीय गिर्ज बहादुर भण्डारी पक्राउ परेका छन् ।
भण्डारीले २०७६ पुस ३ गते झुठा विवरणको आधारमा भारतीय नागरिकलाई आफ्नो छोराको नाम दिएर नागरिकता बनाइदिएको हल्ला चलेपछि उनी फरार भएका थिए ।
नेपाली नागरिकता लिने भारतीय नागरिकलाई तत्कालै प्रहरीले पक्राउ गरेको थियो । भण्डारीको खोजी तिव्र बनाईएको थियो ।
झुटा विवरण पेश गरेर भण्डारीले भारतको सितामढी बगमढीग्राम पञ्चायत घर भएका २५ वर्षीय सिताराम सिंह राजपुतलाई आफ्नो छोरा भन्दै निरज भण्डारी नाम राखेर नेपाली नागरिकता दिलाइदिएर ८ महिनासम्म फरार रहेका थिए ।
भण्डारीले भारतीय नागरिक छोरा भएको बताउँदै राजपुतबाट मोटो रकम लिएर नागरिकता दिलाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी सन्तोष सिंह राठौरले बताए ।
भण्डारी सर्लाहीमै लुकिछिपी बसेको अवस्थामा बुधबार साँझ पक्राउ परेका हुन् ।
राजपुतले ना.प्र.नं. १९-०७-७६-०३१३३ नागरिकता गिर्ज बहादुर भण्डारीको छोरा निरज बनेर लिएको बयान दिएका थिए । राजपुतको बयानको आधारमा भण्डारी प्रहरीको खोजीमा थिए ।
के हुन्छ कारबाही ?
नागरिकता ऐनअनुसार झुटो विवरण पेश गरी नेपाली नागरिकता लिने विदेशीलाई १ वर्षदेखि ५ वर्ष कैद वा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस्तै विदेशीलाई नागरिकता सनाखत र सिफारिस गर्नेलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था छ । (फाईल:तस्वीर)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया