भारतमा एकैदिनमा ९६ हजार संक्रमित, कुल संक्रमितको संख्या ५२ लाख भन्दा बढी

नयाँदिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितहरुको संख्या अहिलेसम्मकै धेरै पुगेको छ । अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ९६ हजार ४२४ जना संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएकाहरुको कुल सङ्ख्या ५२ लाखभन्दा बढी पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा पछिल्लो २४ घण्टामा मात्रै कोरोनाकै कारणले एक हजार १७४ जनाको मृत्यु भएको जनाएको छ ।

भारतमा कुल संक्रमित मध्ये अहिले पनि दश लाख १७ हजार ७५४ जना संक्रमित अवस्थामै रहेका छन् ।मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल ५२ लाख १४ हजार ६७८ जना संक्रमित भएका हुन् । ती मध्ये ४१ लाख १२ हजार ५५२ जना भने संक्रमणमुक्त भइसकेका छन् ।

प्रदेश अनुसार हेर्दा सबैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित भएका छन् । महाराष्ट्रमा अहिले पनि तीन लाख दुई हजार १३५ जना संक्रमित अवस्थामै रहेका छन् भने कर्नाटकमा एक लाख तीन हजार ६५० जना सक्रिय संक्रमितहरु छन् ।

त्यसैगरी आन्ध्र प्रदेशमा ८८ हजार १९७ जना, उत्तर प्रदेशमा ६८ हजार २३५ र दिल्लीमा ३१ हजार ७२१ जना संक्रमितहरु अहिलेपनि उपचारकै क्रममा रहेको अधिकारीहरुले जनाएका छन् ।भारतीय मेडिकल रिसर्ज काउन्सीलका अनुसार भारतमा अहिलेसम्म छ करोड १५ लाख ७२ हजार ३४३ जनाको कोरोना परीक्षण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?