काठमाडौं, भक्तपुर र ललितपुरसहित यी ९ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ६ सय ४१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा ४ सय २८ जना महिला र ८१८ जना पुरुष गरी थप १ हजार २ सय ४६ जनामा कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको हो ।

आजसम्म ८ लाख ८२ हजार ९१५ जनाको पीसीआर परीक्षण गरिएको छ । योसँगै कुल संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको छ ।

प्रवक्ता गौतमका अनुसार नेपालका ९ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी उपचाररत कोरोना संक्रमित भएका ९ जिल्ला

  • काठमाडौं
  • ललितपुर
  • भक्तपुर
  • चितवन
  • सर्लाही
  • रुपन्देही
  • सुनसरी
  • मोरङ
  • सिरहा

यस्तै बितेको २४ घण्टामा थप १ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । यो कुल संक्रमितको ७२ प्रतिशत हो ।

यसैबीच, हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १६ हजार २४१ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ८ हजार ३३८ जना र संस्थागत आईसोलेसनमा ७ हजार ९ सय ३ जना छन् । संक्रमितमध्ये १८२ जना संक्रमितको आईसियु र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ७ हजार ८८३ जना रहेका छन् ।

बितेको २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृतक संख्या ३८३ पुगेको छ । डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मुस्ताङ, डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

नेपालमा मंगलबार काठमाडौं उपत्यकामा ६७६ सहित १ हजार ४५९ जना कोरोना संक्रमित थपिएका थिए ।
यस्तै बुधबार काठमाडौंमा ६५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित देशभर १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?