बुसान इन्टरनेशल फिल्म फेस्टिभलमा नेपाली सर्ट फिल्म ‘जुलुङ्गो’

काठमाडौं– यस वर्षको बुसान इन्टरनेशनल फिल्म फेस्टिभलमा राजेशप्रसाद खत्री निर्देशित नेपाली सर्ट फिल्म ‘जुलुङ्गो (अ स्केयरक्रो)’ छनोट भएको छ । ‘जुलुङ्गो’ बुसानको ‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ अन्तर्गत छनोट भएको हो ।

बुसानले सोमबार सार्वजनिक गरेको सूचीअनुसार एसियन सर्टमा प्रतिस्पर्धामा ‘जुलुङ्गो’ छनोट भएको हो जनाएको छ । यससँगै यस वर्ष बुसनमा दुई नेपाली फिल्म छनोट भएको छ ।

नेपाली कथानक चलचित्र ‘ऐना झ्यालको पुतली’ मुख्य प्रतिस्पर्धामा छनोट भएको समाचार आइसकेको छ । कोरियाको प्रतिष्ठित एसियाली फिल्म फेस्टिभल बुसानमा छनोट भएपछि निर्माण टोलीले बिहिबार ‘जुलुङ्गो’को पोस्टर सार्वजनिक गरेको छ ।

‘वाइड एंगलः एसियन सर्ट फिल्म कम्पिटिशन’ प्रतिस्पर्धाका लागि १० एसियाली फिल्म छनोटसँगै जुलुङ्गो पनि परेको हो । नेपाल, फ्रान्स र हङकङको संयुक्त निर्माणमा बनेको यस फिल्मका निर्माताहरु र भाम (नेपाल), क्याथरिन डसार्ट (फ्रान्स) र शुक फोङ चोक (हङकङक) हुन् ।

यस सेक्सनमा नेपालसहित इरान, भियतनाम, मलेसिया, फिलिपिन्स, भारत, मंगोलिया, कम्बोडिया, बंगलादेशको फिल्महरु छानिएका छन् । छानिएका अधिकांश फिल्महरु अन्तर्राष्ट्रिय सहकार्यमा निर्माण भएका छन् । यस सेक्सनको विजेताले ‘सोन्जि अवार्ड’का साथै १० हजार अमेरिकी डलर (करिब ११ लाख ७० हजार) पाउनेछ ।

मुगुको परिवेशमा एक बालिकाले आफ्नो पढ्ने रहरलाई आफैभित्र राखेर घरायसी काममा सिमित राख्नुपर्ने बाध्यता नै जुलुङ्गोको कथावस्तु हो । पश्चिममा ‘भ्याउना’ भनेर भनिने जुलुङ्गोको अर्थ बाली–नाली रक्षा गर्न राखिने मान्छे आकृतिको बुख्याँचा भन्ने हुन्छ ।

बुख्याँचा बनाउने जिम्मा पाएपछि आमालाई सहयोग गर्नुपर्ने कारणले स्कुल जानबाट बञ्चित भएकी नानीको कथाहो जुलुङ्गो । ‘बालदिवसको विशेष कार्यक्रमका लागि नृत्य प्रशिक्षण लिँदालिँदै कक्षाकोठाबाटै आमाले हात समाएर नानीलाई घर फर्काएपछि उसको पढ्ने सपना निमोठिन्छ । त्यसपछि एकातिर बालदिवसको चर्को नारा घन्किन्छ भने आर्कोतिर नानी आफ्नो परिवारको लागि खेतमा पसिना बगाउन बाध्य हुन्छे’, निर्देशकले राजेशले बताए ।

मुगुको दुर्गम गाउँका शिक्षक समेत रहेका निर्देशक राजेशप्रसाद खत्री आफ्नै वरिपरीका दुःख साट्न फिल्म निर्माणको हुटहुटी रहेको उनले बताए । उनले भने, ‘विद्यार्थीसँग मेरो गहिरो आत्मियताका कारण उनीहरुका व्यक्तिगत अनुभव र मेरो अवलोकनका उपज हुन्, मैले प्रस्तुत गर्ने कथा ।’

उनको यसअघिको फिल्म ‘जालगेडी’ पनिमुगुकै परिवेशमा बनेको थियो । जसले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्ड पाएको थियो ।

सिडिपी, आरु प्रोडक्सन, अस्लेसा इन्टरटेमेन्ट, ग्रिन एज फिल्मस् प्रोडक्सनसँगको सहकार्यमा शुन्य फिल्मस्ले निर्माण गरेको फिल्मको सिनेमाटोग्राफी शिशिर बिसांखेले गरेका हुन् । त्यस्तै असिम खनालको सहायक निर्देशन रहेको जुलुङ्गोको किरण श्रेष्ठकोे सम्पादन, किशोर आचार्यको साउण्ड डिजाइन रहेको छ ।

फिल्मा मुगुकै स्थानीय कविता बुढा, राधिका मल्ल, तारादेवी मल्ल, कविराज भाम लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?