सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर बुधबार सबेरै ६ म्याग्निच्युडको भूकम्प गयो । ठूलै झड्काले सबै आत्तिए । ज्यान जोगाउन भागदौड गर्दै कतिपय सडकमा पनि पुगे । धन्न, मानवीय क्षति भएन ।
आजको कान्तिपुर दैनिक लेख्छ–२०७२ वैशाख १२ को भूकम्पपछि बुधबारसम्म ५० हजारभन्दा बढी परकम्प गएका छन् । त्यसदिन ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर ७.६ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयताका कतिपय कम्पनलाई सर्वसाधारणले नयाँ भूकम्पका रूपमा बुझ्दै आए पनि भूकम्पविद्हरूले ‘आफ्टरसक’ अर्थात् परकम्प नै भएको बताएका छन् ।
‘हो, बुधबारको कम्पन पनि गोरखा भूकम्पकै आफ्टरसक हो,’ युनिभर्सिटी अफ पेरिसबाट ‘गोरखा भूकम्पपछिका परकम्प’ बारे विद्यावारिधि गरिरहेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीले बुधबार भने, ‘बारपाक केन्द्रबिन्दु बनेर भूकम्प जानुअघि जति ग्याप र जुन दरमा भूकम्प गइरहेका थिए, त्योभन्दा बढी दरमै भूकम्प गइरहेका छन् । यसले के संकेत गर्छ भने परकम्पहरू अझै आइरहन्छन्, पूर्ववत् अवस्थामा पुग्न समय लाग्छ ।’
केन्द्रले २०७२ वैशाख १२ पछि ४ म्याग्निच्युड र त्योभन्दा ठूला ५ सय ४८ वटा परकम्पबारे सर्वसाधारणलाई जानकारी गराएको छ ।
केन्द्रले २ म्याग्निच्युडभन्दा साना कम्पनको भने रेकर्ड राख्दैन । साना कम्पनहरू लाखौं गएका हुन सक्छन् । बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर गएको कम्पन भने २०७२ जेठपछिको सबैभन्दा ठूलो परकम्प हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया