ललितपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा ललितपुरमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ६५२ जना र भक्तपुरमा २५ सहित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशभर कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप ८ जनाको ज्यान गएको छ । त्यससँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा ४ जना पुरुष र ४ जना महिला रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ५८ हजार ३ सय २७ जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कुल संक्रमितमध्ये ७१ दशमलव ५ प्रतिशत अर्थात ४१ हजार ७ सय ६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा मात्र थप १ हजार ६८ जना कोरोना मुक्त भएका हुन् ।

नेपालमा हालसम्म ८ लाख ७२ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशभरको प्रयोगशालामा १० हजार ९ सय ९४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?