हिमाल चढ्न बहराइनका राजकुमारसहित १८ जना नेपाल आए

काठमाडौं – हिमाल चढ्नका लागि बहराइनका राजकुमारसहितको टोली नेपाल आईपुगेको छ । राजपरिवारका एक सदस्यसहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहणको लागि गएराति करिब १२ : ३० बजे नेपाल प्रस्थान गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहित १८ जनाको टोली ल्याएको उक्त विमान बुधबार बिहान ११ बजे काठमाडौं अवतरण गरेको थियो । यो टोलीलाई परराष्ट्रका अधिकारीले विमानस्थलमा स्वागत गरेका थिए ।

बहराइनस्थित नेपाली राजदूतावासका अनुसार भदौ १५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार स्वास्थ्य मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्ने गरी चार्टर फ्लाइटबाट बहराइन डिफेन्स फोर्समा कार्यरत १५ जना बहराइनी तथा ३ जना बेलायती नागरिक नेपाल आएका हुन् ।

शेख ईशा एयरबेसको विशेष विमानबाट नेपाल प्रस्थान गरेका राजकुमारसहित १८ जनाको टोली करिब २ महिना समयावधिको कार्यक्रमसहित नेपाल रहनेछन् ।

सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्वतयारीको रूपमा लिँदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आशा लिएको छ ।

तस्बिर : मिङ्‍मा शेर्पा

पर्वतारोहणमा सहभागी हुने सदस्य तथा विमानको चालक दलका सदस्यहरू सबै जना पछिल्लो १५ दिनदेखि स्व क्वारेन्टाईनमा रहेको र कोभिड – १९ संक्रमण भए नभएको परीक्षण पश्चात नेगेटिभ रिपोर्ट आएपछि टोलीले यात्रा तय गरेको हो ।

हेर्नुहोस् विज्ञप्ती : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?