२२ लाख जरिवाना सङ्कलन

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दाका फरार व्यक्तिलाई पक्राउ गरी २२ लाख ३५ हजार ९३० रुपैयाँ जरिवाना रकम सङ्कलन गरेको छ । जिल्ला अदालतको फैसलाबाट कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहँदै आएका व्यक्तिलाई पक्राउ गर्ने अभियान थालेपछि उक्त जरिवाना रकम सङ्कलन भएको हो ।

एकासी दिनमा १०८ फरार अभियुक्त पक्राउ गर्दा उक्त रकम सङ्कलन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। प्रहरीले असारमा नौ, साउनमा ४५, भदौ २८ गतेसम्म ५४ गरी १०८ जना अभियुक्त पक्राउ गरेको उनले बताए । उनका अनुसार ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजनिक अपराध, तथा देवानीलगायत मुद्दामा फरार रहेका व्यक्ति पक्राउ परेका छन् ।

तनहुँ प्रहरीले गत आइतबार एकै दिन ३५ फरार अभियुक्तलाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई जरिवाना भुक्तान गर्न बाँकी रहेका उनीहरुबाट २०० रुपैयाँ देखि दुई लाखसम्म गरी चार लाख १६ हजार ३२५ रपैयाँ भुक्तानीका लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाइबाट एकै दिनमा उक्त सङ्ख्यामा उनीहरु पक्राउ गर्नु उपलब्धीमूलक भएको प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले बताए। छोटो समयमै धेरै अभियुक्त पक्राउ परेपछि जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलको सर्वत्र चर्चा भएको छ । तनहुँ प्रहरीले अब कता आँखा लगाउने हो भन्ने चासो पनि जिल्लाबासीलाई भएको छ ।

“अपराध गर्नेहरु निस्फिक्री हिँड्दा अपराध गरे पनि केही हुँदैन भन्ने भावानाको विकास हुन्छ, त्यसलाई अन्त्य गर्न अभियानकै रूपमा टोली परिचालन गर्दा उनीहरु पक्राउ परेका हुन्”, प्रहरी उपरीक्षक पौडेलले भने । उनी असार ८ गते वाग्मती प्रदेश कार्यालयबाट तनहुँमा आएपछि फरार व्यक्तिहरुको खोजी कार्यलाई तीव्रता दिइँदै आएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?