जाँदाजाँदै कुलमानले भने- ‘सबैको सामूहिक प्रयासबाट लोडसेडिङको अन्त्य भयो’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा चार वर्ष नेतृत्व पुरा गरेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई प्राधिकरणले बिदाई गरेको छ ।

प्राधिकरणका कर्मचारीहरुले मंगलबार एक कार्यक्रम आयोजना गरी घिसिङलाई बिदाई गरेका हुन् । घिसिङको चार वर्षे कार्यकाल भदौ २८ गते मध्यरातबाट सकिएको छ ।

बिदाई कार्यक्रममा बोल्दै घिसिङले एकजना कार्यकारी निर्देशकले मात्रै सबै कामको जस लियो भन्ने कुरा गलत भएको बताए । घिसिङले अहिले सम्म कहि कतै बोल्दा आफुले मात्रै क्रेडिट लिने गरी नबोलेको समेत प्रस्ट पारे । उनले प्राधिकरणका सबै कर्मचारी, मन्त्रालय, सरकार, राजनीतिक दल सबैको समूहिक प्रयासबाट मात्रै लोडसेडिङ हटाउन र प्राधिकरणलाई नाफामा लैजान सफल भएको दोहोर्‍याए । तर प्राधिकरणको हितको लागि आफुले केही कुरामा अडान लिएको पनि घिसिङले बताए ।

आफूले लिएको अडानबाट गर्न नसकिने र गर्न नहुने कामको बास्तविकता समेत देखाउन सफल भएको पनि उनले बताए । जुन कुराले संस्थालाई हित गर्दैन त्यो कुरामा आफुले स्ट्याण्ड लिदा आफुले मात्रै क्रेडिट लिन खोज्यो भन्नु गलत भएको पनि उनले बताए । तरपनि चार वर्षमा नागरिक, सरकार र प्राधिकरणका सबै कर्मचारीको सहयोगले संस्थाको हितका लागि काम गर्न सकेको बताए।

बिदाई कार्यक्रममा घिसिङले प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ती माथि जनचासो बढ्नु पनि उपलब्धी भएको बताए । यद्यपी घिसिङले एकै जना व्यक्ति सधै प्राधिकरणको कार्यकारी रहिरहनु पर्छ भन्ने पक्षमा नरहेको पनि स्पस्ट पारे । धेरै व्यक्ति वा कर्मचारीहरु प्राधिकरणलाई नेतृत्व दिन सक्ने अवस्थामा पुगेकाले भविश्यमा प्राधिकरणको साखः अझ बढ्ने विश्वास समेत घिसिङले व्यक्त गरे । सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुसार सबै कर्मचारीले काम गर्दा यो तहसम्मको सफलता पाएकोले अवको दिनमा पनि प्राधिकरण थप सबल बन्दै जाने विश्वास पनि घिसिङले गरे ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । उनको बिदाई भएसँगै अबको कार्यकारी निर्देशकमा आउँछ भन्ने विषय भने बाँकी नै छ । आम नागरिक तहमा भने फेरीपनि कुलमान नै प्राधिकरणमा आए हुन्थ्यो भन्ने आकांक्षा देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?