बीमा समितिद्वारा कोरोना बीमा मापदण्ड संशोधन

काठमाडौं । बीमा समितिले बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि भए बीमाङ्कको २५ प्रतिशत राहत रकम र बाँकी अस्पतालको बिल अनुसार दिने गरी कोरोना बीमा मापदण्ड संशोधन गरेको छ ।

समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा गरेको बीमितले पीसीआर गर्दा संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेको अवस्थामा बिमाङ्क रकमको २५ प्रतिशत भुक्तानी दिने व्यवस्था गरिएको बताए ।

त्यसबाहेक अस्पतालमा बस्नु परेको खण्डमा भने राहत रकम सहित बिल भर्पाईको आधारमा थप ७५ प्रतिशत सम्म भुक्तानी दिइने अध्यक्ष चापागाईंले बताए । उनले भदौ २८ गते सम्मका बीमितको हकमा पुरानै व्यवस्था लागू हुने र भदौ २९ गते पछि बीमा गरेका बीमितकोलागि मात्रै यो व्यवस्था लागू हुने पनि स्पस्ट पारे । कोरोना बीमाको पुरानै व्यवस्था सहित स्वास्थ्य बीमालाई समेत गाभेर मिश्रित प्रकृतिको बनाइएको पनि अध्यक्ष चापागाईंले बताए ।

यस्तै समितिले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति दिएका प्रयोगशालाबाट पीसीआर परीक्षण गर्दा कोभिड १९ संक्रमण पुष्टि भए बिमाङ्क रकम भुक्तानी गर्ने व्यवस्था गरिएको पनि अध्यक्ष चापागाईंले बताए । उनले पछिल्लो समय संक्रमण पुष्टि हुनेहरुको संख्या पनि बढ्दै गएको र विभिन्न विज्ञहरुको सुझावका आधारमा बीमा मापदण्ड संशोधन गरी समयसापेक्ष बनाइएको स्पस्ट पाए ।

संशोधित व्यवस्था अनुसार बीमितले एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए राहत स्वरुप २५ हजार रुपैयाँ पाउने छ । तर अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भपाई पेश गरेको खण्डमा थप ७५ हजार रुपैयाँ सम्म भुक्तानी हुने छ । ५० हजार बीमाङ्क रकम भएको पोलिसि खरिद गरेको संक्रमित व्यक्तिले भने राहत स्वरुप १२ हजार ५ सय रुपैयाँ पाउने छ भने बाँकी अस्पतालको बिल भर्पाई अनुसार ३७ हजार ५ सय रुपैयाँ सम्म पाउने छ । बीमा समितिले एक हजार रुपैयाँ बीमा शुल्क कायम भएको १ लाख रुपौयाँ बीमाङ्क र ५ सय रुपैयाँ कायम गरिएको ५० हजार रुपैयाँको बीमाङ्क रकम रहेको पोलिसि लागू गरेको छ । जसमा पारिवारको बीमा गर्दा ५० प्रतिशत छुट दिई एक लाखका लागि ६ सय रुपैयाँ र ५० हजारका लागि ३ सय रुपैयाँ बीमा शुल्क कायम भएको थियो । त्यसमा सरकारले ५० प्रतिशत अनुदान दिएको अवस्थामा सामूहिक रुपमा परिवारको बीमा गर्दा एक लाख रुपैयाँ बीमाङ्कका लागि प्रति व्यक्ति ३ सय रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङ्कका लागि प्रति व्यक्ति १ सय ५० रुपैयाँ तिर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?