कोरोनाबाट पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ८ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै थप ८ जनाको मृत्यु भएको छ ।

सोमवार कोरोना संक्रमणबाट मृत्यु भएका १५ जनामध्ये ८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

जसमध्ये १ जना ललितपुरका रहेका छन् भने १ जना भक्तपुर र बाँकी ६ जना काठमाडौंका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौंकी ६१ वर्षीया महिला, ७७, ६२, ७३,८५ र ७० वर्षका पुरुष रहेका छन् । त्यस्तै भक्तपुरका ७३ र ललितपुरका ५५ वर्षीय पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ८७० नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार १७० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४४०, भक्तपुरमा ४३ र ललितपुरमा २९ समेत गरी ३९९ जना महिला र ७७१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ८८९ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ३९३ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार २७५ जना र संस्थागत आईसोलेसनमा ८ हजार ११८ जना छन् । तिमध्ये १७९ जना संक्रमितको आईसियु र २९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ८९२ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर र रुपन्देही गरि ७ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३६० जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै १५ जनाले ज्यान गुमाएका छन् ।

हिजो आईतवार नेपालमा १ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार १७३ जना संक्रमणमुक्त भएका थिए भने ९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?