चितवन । चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा गैँडाकोट नगरपालिका–९ बस्ने ६२ वर्षीया वृद्धा रहेको अस्पतालले जनाएको छ ।
ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या आई भदौ १५ गते अस्पतालमा भर्ना भएकी उनमा १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । सङ्क्रमण देखिएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आइतवार राति ११ः३० मा मृत्यु भएको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए।
हालसम्म जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ । दुई वृद्धाको घरमै मृत्यु भएको थियो । चितवनका १७, मकवानपुरका पाँच, नवलपरासी सुस्ता पूर्वका चार, बारा, गोरखा र कैलालीका एक÷एक जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
मलमा कालोबजारी गर्नेलाई जरिवाना
जिल्ला प्रशासन कार्यालय चितवनले मलमा कालोबजारी गरेको भन्दै चार जनालाई जरिवाना गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक, बिक्री उपसमितिका संयोजक र दुई सदस्यलाई प्रशासनले मलमा कालोबजारी गरेको भन्दै जनही रु १० हजार जरिवाना गरेको हो ।
मल कालोबजारी गरेको अभियोगमा प्रशासनले सहकारीका व्यवस्थापक विनोद अधिकारी, बिक्री उपसमितिका संयोजक रामकृष्ण तिम्सिना तथा सदस्यहरु निर्मल घिमिरे र मायानाथ अर्याललाई पक्राउ गरेको थियो ।
सहकारीले कालोबजारी तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ को दफा ३ विपरीत कसुर गरेको ठहर गर्दै उनीहरुलाई जरीवाना र बिक्रीका लागि राखिएको मल जफत गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए ।
सहकारीमा खोलिएको अवस्थामा रहेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णय गरेकोसमेत सिम्खडाले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया