अख्तियार शासकको लाचार छाया बन्योः नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संवैधानिक संस्थाहरु सरकारको लाचार छाया बनेको टिप्पणी गरेका छन् । नेता केसीले व्यक्ति र अख्तियारको समीक्षा भन्दा पनि संवैधानिक संस्थाहरु ध्वस्त हुँदै शासकका लाचार र निरीह छाया बनेको सामाजिक सञ्चालमार्फत बताएका हुन् ।

कुशल र निष्पक्ष भन्दा पनि भागबन्डामा नियुक्ति दिने परम्परा हावी हुँदा यस्तो भएको उनको भनाइ छ । ‘हजारलाई आत्महत्याको विवश स्थिति, तर वाइडबडीदेखि औषधि प्रकरणसम्म मौन। यसको समाधानले मात्र सुशासन र लोकतन्त्र सुरक्षित हुन सक्छ’, नेता केसीले भनेका छन् । अन्यथा प्राप्त उपलब्धि विनासको कारक यही बन्न सक्ने भन्दै बेलैमा सचेत हुन ध्यानाकर्षण गराएका छन् ।

नेता केसीले देश कोभिड महामारी भन्दा पनि भ्रष्टाचारको भाइरसले रुग्ण बनेको समेत बताए ।

पूर्वप्रधानन्यायाधीशको अध्यक्षतामा भरोसायोग्य निष्पक्ष, पारदर्शी र पूर्वाग्रह मुक्त उच्चस्तरीय आयोगद्वारा सम्पूर्ण भ्रष्टाचार छानबिन हुनुपर्ने कांग्रेसको १४औं महाअधिवेशनको प्रमुख एजेन्डा बन्नुपर्नेमा समेत नेता केसीले जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?