व्यवसायी महासङ्घद्वारा देउवासँग समस्या समाधानको पहल गरिदिन आग्रह

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

महासङ्घको टोलीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको व्यवसायीका लागि सरकारले राहतका लागि ठोस योजना नल्याएको भन्दै समस्या समधानका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंक तथा वित्तिय संस्थाको साँवा, ब्याज, घरभाडा, कामदारलाई पारिश्रमिक दिनसमेत समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई विशेष राहतको वातावरण मिलाउन पहल गरिदिन आग्रह गरे । उनले बन्दाबन्दीका कारण लामो समयदेखि नेपाली उद्योगी व्यवसायीको सामान केरुङ नाकामा रोकिएको भन्दै उक्त सामान ल्याउनसमेत प्रमुख प्रतिपक्षी दलले पहल गर्नुपर्ने बताए ।

ज्ञापनपत्र बुझ्दै सभापति देउवाले उद्योगी व्यवसायीको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउँदै त्यसका लागि प्रतिपक्षी दलले पहल गर्ने विश्वास व्यक्त गरेको सभापति देउवाको भनाइ उद्यृत गर्दै भेटमा सहभागि महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले राससलाई जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?