कोरोनाबाट पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र नेपालमा कोरोनाको कारण थप ९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज मृत्यु हुने ९ जनामध्ये ६ जना काठमाडौंका मात्र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ६ जना पुरुष र ३ जना महिला रहेका छन् ।

काठमाडौंमा मृत्यु हुनेहरुमा भने २ महिला र ४ जना पुरुष रहेका छन् । काठमाडौं जिल्लामा ६५ वर्षीया २ महिला र वर्ष ५९, ७०, ६४ र ५९ का ४ जना पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ३९ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका ९ हजार १६५ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ४८३, भक्तपुरमा ८१ र ललितपुरमा ३३ समेत गरी ३६५ जना महिला र ६७४ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १ हजार १७३ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ । यो कुल संक्रमितको ७१.५ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ७ हजार ३८७ जना र संस्थागत आईसोलेसनमा ७ हजार ७३० जना छन् । तिमध्ये १६९ जना संक्रमितको आईसियु र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ५३६ जना रहेका छन् । यस्तै काठमाडौंसहित, मोरङ, सुनसरी, सर्लाही, चितवन, ,भक्तपुर, ललितपुर र रुपन्देही गरि ८ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३४५ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ९ जनाले ज्यान गुमाएका छन् ।

हिजो शनिवार नेपालमा १ हजार २०१ जनामा संक्रमण पुष्टि भएको थियो । ८५२ जना संक्रमणमुक्त भएका थिए भने १४ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?