काठमाडौं – गत शुक्रवार भक्तपुर मध्यपुर थिमि नगरपालिका – ९ स्थित निकोसेरामा रहेको सडकसँगै जोडिएको एउटा घरभित्र सोही घरधनी ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारी सहित घरमा पालिएको सेतो रङको कुकुरको शव भेटिएपछि रहस्यमय बनेको घटनाको पटाक्षेप भएको छ ।
प्रहरीले संकलन गरेका विभिन्न प्रमाणहरुका आधारमा सो घरमा भएको विभत्स घटना सोही घरका घरधनी ३६ वर्षीय सुदीप अधिकारीबाटै भएको बलियो प्रमाण घटनास्थल, केस हिष्ट्रि र प्राप्त सबुतहरुलेपुष्टि भएको छ ।
***
शुक्रबार साँझ करिब ५ बजेतिर सुदीपका भाई मासु पुर्याउनको लागि दाईको घरमा जाँदा आधा ढोका खुल्लै आधा लगाएको /ढप्काएको जस्तो देखेपछि बाहिरबाटै दाई, भाउजु र भतिज (दाईका छोरा)लाई बोलाएका थिए । कोहि पनि नबोलेपछि भित्र जाँदा उनले यो विभत्स दृश्य मात्रै देखेनन् । दाईको तीन जनाको परिवारको विभत्स शवबाट उभिनै गाह्रो हुनेगरी दुर्गन्ध आईरहेको र छेउमै घरमा पालेको सेतो रङको कुकुरसमेत मरेको देखे । त्यसपछि उनले चिच्याउँदै प्रहरी गुहारेका थिए ।

घटना थाहा हुनेबित्तिकै महानगरीय प्रहरी परिसर भक्तपुर, अपराध महाशाखा र सिआईबीको टोली घटनास्थल पुग्छ ।
पछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट ‘फरेन्सिक विज्ञ’ को टोली पनि घटनास्थल पुगेको थियो ।
त्यसपछि छिमेकी र जनप्रतिनीधि घटनास्थल पुगेका थिए ।
एकै परिवारका तीन जनाको शवसहित घरमा नै पालिएको कुकुर मृत अवस्थामा भेटिएको घटना अनुसन्धान गरिरहेको प्रहरीले मृतक सुदीप अधिकारीले ऋणको बोझमाथि थपिएको बेराजगारी , दिनहुँजसो हुने गरेको पारिवारीक किचलो खप्न नसकेर दुईजनाको हत्या गरी कुकुरलाई समेत विष खुवाई घटना प्रयाश्चित गर्न आफूले पनि विष पिएको हुनसक्ने निष्कर्ष निकालेको छ ।
मृतक सुदीप अधिकारीका छोरा सुशान्तको शवमाथि पहेँलो रंगको रामनाम लेखिएको पिताम्बर ओढाईएको र उनकी श्रीमती सम्झनाको शवमाथि सेतो रङको बुट्टे पिताम्बर ओढाईएको थियो । मनोविद्का अनुसार मानिसले अक्षम्य अपराध गरेपछि के गरौँ कसो गरौँ जस्तो उकुसमुकुस अवस्थामा क्षमायाचनासहित यस्तो हर्कत गरेको हुनसक्ने बताउँछन् ।
प्रहरीले घटनास्थल भएको निजहरुकै घरमा भेटिएको शवको प्रकृति र शरीरका घाउचोटपटक हेर्दा घटना केहि योजना बनाएर मृतक सुदीपले नै घटाएको हुनसक्ने बताएका छन् ।
घटना थाहा पाएपछि पुगेका जनप्रतिनिधि र छिमेकीले शवहरुमा रामनाम लेखिएको कात्रोसमेत ओढाउनु र एकै परिवारका सबै सदस्यको नरसंहार गर्नु तथा घरमा पालिएको कुकुरसमेत मृत भेटिनुले बाहिरी मानिसको आशंका गर्दै घटना रहस्यमय भनेका थिए । तर प्रहरीले बाहिरी आवतजावत छानबिनका लागि हेरेको सिसि क्यामेराको फूटेजमा बाहिरी मानिसको आवतजावत नभएको पाएको जनाएको छ ।

विभिन्न फूटेज, घटनास्थलमा भेटिएका सबुत प्रमाण, शवको प्रकृति, प्रयोगशालाबाट आएको रिपोर्ट, परिवारको बयान, आफन्तको बयान, छिमेकीको बयान आदिको विश्लेषण गरिरहेको प्रहरी भेसेराको रिपोर्ट कुरिरहेको छ ।
मृतक आमा छोराको शरीरमा हतियारको प्रयोगबाट चोटपटक लागेको देखिनु,छोराको घाँटी रेटीनु, प्रतिकारका क्रममा खाटको भित्तामा रगत लतपत्तिनु, आक्रमणको प्रतिकार गरेकोजस्तो देखिनु, हतियारसमेत सोही कोठामा भेटिनुले मृतक सुदीपले नै छोराको हत्या गरेको भन्ने निष्कर्षको नजिक पुगेको छ, प्रहरी ।
यसै वर्षको एसईईमा ‘ए ग्रेड’ ल्याएर राम्रो विषय अध्ययन गर्ने बताएका सुशान्तको आनीबानी निकै शान्त र शुसिल किसीमको भएका कारण बाहिरी साथीभाईको संगत उनको नभएकोले बिदाको समयमा उनि घरैमा बस्न रुचाउने गरेको र बाहिरफेर उतिसाह्रो नदेखेको छिमेकीले बताएका छन् ।
मृतक सुदीप भदौ २१ गते छोरासहित श्राद्ध खान ससुराली गएका थिए । भदौ २१ गते साँझ सुदीप ससुरालीबाट फर्किएका थिए भने सो दिन छोरा सुशान्त मामाघरमै बसेको सुदीपका ससुराले प्रहरी सामू दिएको बयानमा बताएका छन् । गत भदौ २२ गते उनी छोरालाई लिन गएका थिए । छिमेकीका अनुसार २३ गते सुदीपको पसल खुला थियो । प्रत्यक्षदर्शीले २३ गते सुदीपलाई पसलमा एक्लै देखेको बताएका छन् । गत २४ गते उनीहरुको किराना पसल खुलेको थिएन । त्यसैले सुदीपले २४ गते राति छोरा र श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।
घटनास्थलमा भेटिएका दुई शवहरु आमा सम्झना र छोरा सुशान्तको शव फुलेको, गन्हाउने, पानी बगिरहेको र हतियारको प्रयोग गरिएकोले रगताम्मे भएको थियो । र प्रहरीले घटना थाहा भएकै दिन आमा छोराको हत्याको समय र सुदीपको मृत्युको समय फरक रहेको बताएको थियो । घरको माथिल्लो तत्लाका सबै कोठाको चुकुल खुल्ला रहेको र घरभित्र घटनापश्चात् कसैको पनि ईन्ट्रि नभएकोदेखिएको अनुसन्धानमा खटिएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा भन्छन्, “घटनामा बाहिरी मानिसको संग्लनताको सम्भावना कम छ । किनभने घरका सबै सामानहरु जस्ताको त्यस्तै छन् । मृतक सुदीप अधिकारीकी श्रीमती र छोराको शव ओछ्यानमै भेटिए । बाहिरी मानिसबाट घटना भएको हुन्थ्यो भने सुदीपको हत्या पनि उस्तै प्रकृतिको हुन्थ्यो । यहाँ फरक देखियो । अनुसन्धान अझै जारी छ । ”

प्रहरीका अनुसार मृतक सुदीपको शवमा बाहिरी चोटपटक थिएन । उनको शव नजिक बान्ता गरेको भेटिएको थियो । उनले लगाएको कमिजमा रगतको छिटा समेत थियो । बाथरुममा समेत बान्ता भएको प्रमाण संकलन भएको थियाने ।प्रहरीले मृतक सुदीपको घरको साईडमा रहेको धानबारीमा विषको बट्टा समेत फेला परेको छ ।
नजिकै कचौरामा आधा पोखिएरको पिठो पनि फेला पारेको थियो । भान्सामा रहेका खानेकुराबाट समेत विषको गन्ध आईरहेको थियो । त्यसलाई पनि प्रयोगशाला पठाइएको छ । मृत अवस्थामा भेटिएको कुकुरले पनि बान्ता गरेको चिह्न देखिएका कारण मृतकले कुकुरलाई पनि विषय खुवाएको वा विष भएको खानेकुरा खान दिएको हुनसक्ने कारण कुकुरको शव पनि प्रयोगशाला लगिएको थियो ।
पछिल्लो दुई वर्षयता सुदीप बेरोजगार थिए । त्यसअघि उनी औषधी पसलमा काम गर्थे । मुलघरबाट उनीहरु घटना भएको घर किनेर सरे धेरै भएको छैन । सडकसँगै जोडीएको साढे तीन तले घरको भुई तलामा अधिकारी दम्पतीले किराना पसल संचालन गर्दै आएका थिए।
यसबाहेक उनीहरु अन्य कुनै
पेशा व्यवसायमा संलग्न आवद्ध रहेको गतिविधि देखिएको छैन।
उनका छिमेकीले कहिलेकाँही मृतक सुदीपले मादक पदार्थ सेवन गर्ने गरेको र सो घरमा जहिल्यै पनि झगडा परिरहेको आफूहरुलाई थाहा भएको बताएका छन् । प्रहरी अनुसन्धानबाट उनले एक वर्षअघि घर धितोमा राखेर कृषि विकास बैंकबाट २३ लाख ८५ हजार लिएको खुलेको छ ।
मृतक सुदीपले किराना पसलमा सामान थप गर्न भन्दै ससुरालीबाट दुई महिना पहिले २ लाख रुपैयाँ सापटी लिएको, ऋणको बोझका कारण उनी निकै तनावमा रहेको, छोरालाई उसले भनेको जस्तो विषय पढाउनपर्ने बाध्यता, कोरोनाको कारण जारी लकडाउन र निषेधाज्ञाका कारण पछिल्लो ६ महिनादेखि चौपट भएको व्यापार, श्रीमतीसँग रातोदिन झै-झगडा हुनु, अत्याधिक मदिरा सेवन गर्ने उनको आदत जस्ता कारणले उनले छोरा र श्रीमतीको हत्यापछि प्रायश्चित गर्दै आफूले समेत आत्महत्या गरेको निष्कर्षनजिक प्रहरी पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया