विदेशमा यो साता : थप ४३ जना नेपालीको कोरोनाबाट मृत्यु, साउदीमा मात्रै ५२ पुगे मृतक !

काठमाडौं – विश्वभर त्रासदीपूर्ण रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को महामारीका कारण यो साता विदेशमा रहेका थप ४३ जना नेपालीको मृत्यु भएको छ ।

कोरोना महामारीका कारण साउदी अरबमा मात्रै संक्रमणका कारण निधन हुने नेपालीको संख्या ५२ जना पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । गत मार्च महिनायता साउदी अरबमा मात्रै ४१ जनाको मृत्यु भएको हो ।

यो साता कतारमा पनि थप २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै शनिवार साँझसम्म विदेशका विभिन्न १६ देशमा कोरोना संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय ४३ पुगेको (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले जानकारी दिए ।

कोरोना भाइरसका कारण हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएका छन् ।

यसैबीच कोरोना महामारीका कारण अलपत्र परेका रोजगारी गुमाएका, स्वास्थ्य समस्या भएका नेपालीहरुमध्ये प्राथमिकताका आधारमा हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार ७ सय १० जना नेपालीको उद्धार गरिएको एनआरएनएले जनाएको छ ।

प्राथमिकताको आधारमा उद्धार कार्य भइरहेको एनआरएनएले जनाएको छ ।

यसैबीच एनआरएनए स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई अनिवार्य १४ दिन क्वारेन्टाईनमा बस्न अनुरोध गरेका छन् ।

विदेशमा पीसीआर परीक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टाईनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा. सापकोटाले आग्रह गरेका हुन् । (file photo)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?