महामारीमा निःशुल्क खाना : कसरी तयार हुन्छ ?

काठमाडौं । कोरोनाका कारण समस्यामा परेका, रोजगारी गुमाएका व्यक्तिहरु वा कोरोनाकै कारण खाना खान नपाएकाहरुलाई विभिन्न मनकारी व्यक्ति र संघ संस्थाले अहिले निः शुल्क खाना खुवाइरहेको हामीले पढ्ने, सुन्ने गरेका छौँ । चार महिना लामो लक डाउन, त्यसपछिको निषेधाज्ञाको यो समयमा सयौ व्यक्तिहरुका लागि खाना बनाएर सधै एउटै समयमा खुवाउनु चानचुने कुरा होइन । हो उनीहरुले बनाउने खाना कसरी बन्छ ? कहाँ बन्छ ? खर्च कसरी व्यवस्थापन गर्छन होला ? खाना बनेको ठाउँबाट कसरी प्याकिङ भएर आउँछ ? आज हामी तपाईलाई देखाउँदै छौँ त्यो भित्रि कथा, जुन तपाई हामीले विभिन्न सञ्चारमाध्यम सामाजिक सञ्जालमा देख्ने गरेका छौँ ।

विश्वव्यापी बनेको कोरोना महामारीले नेपाललाई पनि नराम्रारी प्रभाव पारेको छ । हजारौं संक्रमित भएका छन् । तीन सय बढीले ज्यान गुमाएका छन । भने, लाखौले रोजगारी गुमाएका छन । कोरोनाका कारण रोजगारीमा मात्रै होइन हजारौले दुई छाक खाना खान समेत पाएका छैनन । गत चैतबाट कोरोना संक्रमणको जोखिम कम गर्न जारी भएको लक डाउनले धेरैजना हप्ता दशदिन भन्दा बढी समय भोकै बस्न बाध्य भए ।

अवस्था तत्काल सामान्य नहुने अवस्था आएपछि मनकारी व्यक्ति र संघसंस्थाहरुले कोरोनाका कारण खाना नपाएकाहरुलाई खोजी खोजी सहयोग गर्न थाले । कोही, हप्ता दश दिन एक महिनामा थाके त कोही आजको दिनसम्म पनि त्यस्ता व्यक्तिहरुलाई खोजी खोजी खाना खुवाइरहेका छन । तिनै मध्येकी एक हुन इन्दिरा रानामगर (संस्थापक—बन्दी सहायता नेपाल) । कोरोना महामारी अघि जलका आश्रीत बालबालिलाई हेर्दै गरेको उनको संस्थाले अहिले कोरोनाका कारण समस्या परेका खान नपाएका अशक्त व्यक्ति र सडक बालबालिकाहरुलाई खाना खुवाइरहेकी छिन् । पहिलो दिन आफ्नो संस्थामा रहेका बोहक २० जनालाई खाना खुवाउनु भएका रानामगरले दोस्रो दिन ३०, तेस्रो दिन ४० हुँदै एक महिना नपुग्दै दैनिक २ जना खाना खुवाउन थालिन् ।

अहिले विभिन्न क्षेत्रमा गरी एक दिनमा ७ सय बढीलाई खाना खुवाइरहेको उनको भनाई छ । उनी भन्छिन, ‘‘पहिलो दिन २० जनालाई पकाएर खुवाए । त्यसपछि ३०, ४० जना हुँदै एक महिना नपुग्दै २ सय जनालाई खुवाइयो ।’’ सुरुमा ठमेलको संचयकोष क्षेत्रमा खाना खुवाइरहेपछि स्थानीय तहका पदाधिकारी र केही स्थानीयहरुले कोरोनाको बेला भिडभाड र फोहोर गर्‍यो भन्ने बाहनामा आफुमाथि दुव्र्यहार गरेको उहाँको अनुभव छ । संस्थाका सबै स्टाफहरु नभएको बेला दरबारमार्ग बृत्तका प्रहरीहरुले समेत खाना बाँड्न सहयोग गरेको उनको भनाई छ ।

सुरुमा दुई छोरी र आमा मिलेर दैनिक खाना बनाउने, प्याकिङ गर्ने, खुवाउने र साँझ आएर भाँडा धुने काम गर्ने गरेकोमा अहिले भने अन्य स्टाफहरु पनि आइसकेपछि केही सहज भएको उनको भनाई छ । संक्रमणको जोखिम नहोस भनेर सधै आफै खाना डेलिभरी गरी अशहायहरुलाई बाँड्छिन् रानामगर ।

आफुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खाना वितरण गर्ने गरेको उनको भनाई छ । सुरुको दिनमा आफ्नै खर्चबाट पकाएर खुवाउने गरेको भएपनि अहिले विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्ने गरेका छन । कसैले जन्मदिनको अवशरमा त कसैले कुनै न कुनै अवशर पारेर नगद तथा अन्य सहयोग गर्दै आएका छन ।

विहानै देखि खाना तयारीका लागि ड्युटीमा खटिनुपर्ने भएपनि सहयोगीहरुलाई काममा आउनै पर्ने जवरजस्ती भने नगरेको उहाँको भनाई छ । तर काममा आए÷नआएपनि सुरक्षीत बस्न आफ्नो स्टाफहरुलाई सधै भन्ने गरको उनले बताइन् । लकडाउन अघिसम्म बढीमा २ सयजनाका लागि खाना बनाएको अनुभव सुनाउनुहुने रानामगर अहिले अहिले ७ सय भन्दा बढी व्यक्तिका लागि खाना तयार गर्छिन् करिब पौने १ घण्टामा ।

दैनिक औषतमा ३ बोरा चामल पकाउने गरेकोमा कहिलेकाँही बढी मान्छे भएमा पहिलो चरणमा खाना बाँडेर पुनः पकाउँदै बाँड्नुपर्ने अवस्था रहेको उनको भनाई छ । पोषणयुक्त खाना र सरसफाईमा विशेष ध्यान दिएको उल्लेख गर्दै उनले अहिले १ सय रुपैयाँले दैनिक ३ जनालाई खाना खुवाउने गरेको बताउनुभयो । खाना तयार गर्दा देखि प्याकिङ गरी वितरण गर्दासम्म १ सय बराबर तीन जनालाई खाना खुवाउछिन्, रानामगर ।

महामारीको समयमा अरुलाई दोष दिएर बस्नुभन्दा सबै मिलेर एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्नुपर्ने सुझाव इन्दिराको छ । भन्छीन्, ‘‘प्रत्येक नेपालीले एक रुपैयाँ र १ माना मात्रै चामल दिएपनि अहिलेको समस्या समाधानका गर्न सकिन्छ । जनताले नै जनताको समस्या समाधान गर्ने हो । नेपाली मनका धनी छन्, यो महामारीको समयमा त्यो छर्लङ्ग देखिएको छ । देशविदेशमा रहेका दाजुभाइहरुले सहयोग गरिरहेका छन् ।

अहिले पनि नेपाल सरकारले सेवानिवृत कर्मचारीहरुले पनि सहयोग गरिरहनु भएको विभिन्न क्षेत्रबाट ।’’ सरकारका कामजोरीहरु औल्याउँदै सुझाव दिने र मिलेर अगाडी बढ्नुपर्ने उनको भनाई छ । उनले अहिले ठमेल, गल्कोपाखा चोक, जमल, खुलामञ्च लगायतका ठाउँमा ७ सय भन्दा बढीलाई दैनिक खाना खुवाउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?