निषेधाज्ञाका कारण उद्योगधन्दा बन्द, निर्माणको काममा असर

काठमाडौं । कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन सुरु भएयता निर्माण क्षेत्र पनि ठप्प छ । जसका कारण देशभर हजारौंको संख्यामा रहेका निर्माण उद्योगहरु बन्द रहे । त्यसको असर उद्योगीहरुमा मात्र नभएर श्रमिकहरुमा पनि परेको छ । लकडाउन खुलेपछि पनि निर्माणका गतिविधि कम हुँदा व्यापार न्यून भएकाले झनै समस्या बढेको उद्योगीहरु बताउँछन् ।

कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लकडाउन आदेश जारी हुँदा निर्माण क्षेत्रका इटा उद्योग, क्रसर उद्योग लगायतका उद्योगहरु पनि बन्द रहे । तरपनि कोभिड १९ संक्रमणको असर परेको क्षेत्रहरुमा यी क्षेत्र पर्दैनन । जसको मुख्य कारण निर्माण क्षेत्र कुनै न कुनै रुपमा सञ्चालन भइरहेको छ भन्ने हो । निर्माण क्षेत्रका लागि आवस्यक मुख्य कच्चापदार्थ यिनै इटा उद्योग र क्रसर उद्योगबाट आपूर्ति हुन्छ । त्यसैले पनि यो क्षेत्रमा त्यति ठूलो असर परेको छैन भन्न सकिन्छ । तर निर्माण उद्योगीहरु भने त्यसमा सहमत छैनन् । अन्य क्षेत्रमा परेको असरको प्रभाव निर्माण क्षेत्रमा पनि पर्ने क्रसर उद्योगी श्यामराज खड्का बताए । उनले कोभिडको असर वैदेशिक रोजगारीमा परेको र रेमिट्यान्समा कमी आउँदा निर्माणका कामपनि कम हुन गई निर्माण जन्य उद्योगहरुमा असर पर्ने बताए । उनले रेमिट्यान्समा ३० प्रतिशते कमि आएमा निर्माण क्षेत्रको व्यापारमा पनि ३० प्रतिशतले नै कमि आउने बताए । त्यसैले सरकारले क्रसर उद्योग सञ्चालनमा सहजिकरण गर्नुपर्ने खड्काको भनाई छ ।

यस्तै इटा उत्पादक संघका अध्यक्ष नातिभाई हेम्वाले पनि लकडाउन सुरुभएपछि इटा उत्पादन ठप्प भएको बताए । काचो इटा पोल्ने बाहेकका कुनै काम हुन नसेको उहाँको भनाई छ । उनले अहिले बजारमा समेत इटाको माग नभएको बताए । अहिले उत्पादन भएको इटा बिक्री नभएकाले अर्को सिजनको मागलाई समेत धान्न सक्ने इटा आफुहरुसँग रहेको हेम्वाले बताए । त्यसैले पनि अहिलेकै स्थितिमा माग भइराखे अर्को सिजनमा इटाको आपूर्तिमा कुनै समस्या नहुने देखिन्छ । तर अहिलेको स्थितिमा उद्योग सञ्चालन गर्न चुनौति रहेको पनि उनको भनाई छ । विभिन्न जिल्लाबाट आउने श्रमिकहरुको व्यवस्थापन उद्योगीहरुका लागि मुख्य चुनौति रहेको उनले बताए भक्तपुर जिल्लामा सञ्चालित ६२ वटा इटा उद्योगमा करिब ३५ हजार कामदार कार्यरत छन् । विभिन्न जिल्लाबाट र भारतबाट समेत कामदार ल्याउनुपर्ने भएकाले कोभिड १९ संक्रमणको व्यवस्थापनमा चुनौति रहेको अध्यक्ष हेम्वाले बताए । कामदारहरु विभिन्न उद्योगमा पालैपालो काम गर्न जानुपर्ने भएकाले उद्योग भित्रै क्वारेन्टाइनमा राख्न समेत सम्भव नहुने उनले बताए । त्यसैले सरकारले इटा उद्योगीहरुका लागि छुट्टै मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?