संसदीय उपसमितिद्धारा कोरोना अस्पतालको अनुगमन

काठमाडौं । सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ । संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रवार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।

उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाईको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना संक्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्ड अनुसार हुनुपर्ने बताए।

उनले कोरोना उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई समेत धन्यवाद दिए । चन्द्रागिरीमा शुक्रवारसम्म २२७ जना कोरोना सङ्क्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गईसकेका छन् ।

यस्तै, ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा सुदा महर्जनले बताइन् । चन्द्रागिरिमा हालसम्म कोरोना संक्रमणका कारण दुईजनाको ज्यान गएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?