वालिङ । कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै घरेलुु तथा साना उद्योग कार्यालय स्याङ्जाले सेवाग्राहीलाई आलोपालो पद्धतिबाट सेवा दिने भएको छ ।
सङ्क्रमणका कारण स्याङ्जा उच्च जोखिममा रहेको अवस्थामा कार्यालयमा सेवा लिन आउनेको संख्यामा वृद्धि भएकाले पालिका÷पालिकालाई बार तोकेर आइतबारदेखि सेवा दिने तयारी भएको कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताए । “जिल्लाका एघार वटा पालिकालाई कार्यालय खुल्ने छ दिनमध्ये पाँच दिन दुई/दुई वटा पालिका र एक दिन एउटा पालिकाका सेवाग्राहीलाई सेवा दिन्छौँ”, कार्यालय प्रमुख रेग्मीले भने ।
कार्यालयमा विगतदेखि रोकी रहेका फर्म दर्ता, फर्म नवीकरण, नामसारी, ठाउँसारी लगायतका कामकाजका लागि सेवाग्राही जिल्ला भरिबाट आउने गरेकाले निश्चित दिनमा निश्चित पालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गर्दा संख्या सीमित हुने र सङ्क्रमणको जोखिम कम हुने विश्वास कार्यालय प्रमुख रेग्मीको छ ।
कार्यालयले स्वास्थ्य, सावधानी र सुरक्षालाई मध्यनजर गर्दै आइतबारदेखि शुक्रवारसम्म सेवा प्रवाह गर्ने तालिका सार्वजनिक गरेको हो ।
आइतबार वालिङ नपा र बिरुवा गापा, सोमबार पुतली बजार नपा र फेदीखोला गापा, मङ्गलवार चापाकोट नपा र हरिनास गापा, बुधवार गल्याङ नपा र कालीगण्डकी गापा, बिहीवार भीरकोट नपा र अर्जुनचौपारी गापा, शुक्रबार आँधीखोला गाउँपालिकाका सेवाग्राहीलाई सेवा दिइने कार्यालय प्रमुख रेग्मीले बताए । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया