काठमाडौं ।
समय :शुक्रवार साँझपख
स्थान : भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेरा
घटनास्थल : महानगरीय प्रहरी वृत्त थिमिदेखि करिब ७०० मिटर पर
घटना : पहिलो, दोस्रो र तेस्रो तलामा परिवारका तीन सदस्यसहित कुकुरको शव
दृष्य : घरको मुल ढोका उघारै
मृतक सुदीप अधिकारीका भाइ सुनिल अधिकारी भक्तपुर मध्यपुर थिमि नगरपालिका–९ निकोसेरास्थित दाइको घरमा जाँदा देखेको विभत्स दृष्य हो यो ।

***
एक त परिवारका सदस्यको विभत्स शव तलैपिच्छे भेटिनु र शवबाट दुर्गन्ध आइरहेको अकल्पनिय दृष्य देखेपछि सुदीपका भाईले प्रहरीलाई खबर गर्छन् ।
महानगरीय प्रहरी परिसर भक्तपुर, अपराध महाशाखा र सिआईबीको टोली घटनास्थल पुग्छ ।
***
प्रहरीका अनुसार भक्तपुरमा विभत्स रुपमा भेटिएको एकै परिवारका तीन सदस्यसहित घरैमा पालिएको कुकुरको शव गन्हाएको अवस्थामा भेटिएका कारण घटना केहीदिन अघि नै भएको हुनसक्छ ।
लोकपथसँगको सम्पर्कमा घटनास्थलमा खटिएका महानगरिय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले मृतकका भाई सुनिल अधिकारी घरमा जाँदा घरको दोस्रो तल्लामा सम्झना अधिकारी र कुकुरको शव, तेस्रो तलामा छोरा सुशान्त अधिकारीको शव र त्यसभन्दा माथिल्लो तलामा बुबा सुदिप अधिकारीको शव गन्हाएको अवस्थामा भेटिएका भन्दै खबर गरेपछि तत्काल घटनास्थल पुगेको अनुसन्धान शुरु गरेको बताए । शवहरुबाट गन्ध आइरहेको कारण घटना केही दिन अघि भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
प्रहरीका अनुसार ३६ वर्षीय सुदिप अधिकारी, उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीसहित सोही घरमा पालेको कुकुर पनि मृत अवस्थामा फेला परेको छ ।
घटना कस्ले, किन र कहिले गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापा बताउँछन् । “शवहरु गन्हाएको कारण केहीदिन अघि नै घटना भए जस्तो देखिन्छ । प्रहरीलाई मृतकको आफन्तले जानकारी गराए अनुसार ढोका खुल्लै हुनु, परिवारका तीन सदस्यको शव फरक फरक तलामा विभत्स अवस्थामा भेटिनु, घरमै पालेको कुकुर समेत मृत भेटिनुले घटना केही रहस्यमय देखिन्छ । तत्काल घटनाबारे केही भन्न सकिन्न अनुसन्धान भइरहेको छ, हाम्रो टोली खटिरहेको छ, सोधपुछ भइरहेको छ ।”
मृतकका परिवारका सदस्य हत्याको आशंका गर्छन् ।
एक जना छिमेकीले मृतकको घरमा तीन दिनदेखि सुनसान देखेको पनि बताएकी छिन् ।
अहिले घटनास्थलमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), भक्तपुरका एसपी तारादेवी थापा र अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाको टोली घटनास्थलमा अनुसन्धानकै क्रममा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया