शुक्रवार काठमाडौं उपत्यकामा थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रवार हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरु काठमाडौंका ६२० जना, भक्तपुरका ३८ र ललितपुरका ३८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ४२६ जना पुरुषर १९४ जना महिला गरि ६२० जना, भक्तपुरमा १७ महिला र २१ पुरुष गरि ३८ जना र ललितपुरमा पनि १७ महिला र २१ पुरुष गरि ३८ जना संक्रमित पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थपिएका छन् ।

त्यस्तै काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ ।उनी काठमाडौंका ७० वर्षीय पुरुष रहेका छन् ।

यसैबीच बितेको २४ घण्टामा नेपालमा थप १ हजार ४५४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार बितेको २४ घण्टामा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएका १० हजार ७०१ नमूनाको आरटी पिसिआर परिक्षणका क्रममा थप १ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा ६२०, भक्तपुरमा ३८ र ललितपुरमा ३८ समेत गरी ४६३ जना महिला र ९९१ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप ९७२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ३६ हजार ६७२ पुगेको छ । यो कुल संक्रमितको ७१ प्रतिशत हो । पछिल्लो एक सातादेखि संक्रमणमुक्त हुनेको संख्या बढीरहेको छ ।

यसैबीच हालको अवस्थामा उपचाररत संक्रमितको संख्या १४ हजार ९२५ रहेको मन्त्रालयले जनाएको छ । तिमध्ये होम आईसोलेसनमा ६ हजार ६३४ जना र संस्थागत आईसोलेसनमा ८ हजार २९१ जना छन् । तिमध्ये १७० जना संक्रमितको आईसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

हाल देशका विभिन्न स्थानमा रहेका क्वारेन्टाईनमा ६ हजार ७८ जना रहेका छन् । यस्तै काठमाडौंसहित सुनसरी,सर्लाही, चितवन र रुपन्देही गरि ५ वटा जिल्लामा ५ सय बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रध्यापक डाक्टर जागेश्वर गौतमले बताएका छन् ।

डाक्टर गौतमका अनुसार सोलुखुम्बु, मनाङ,मुस्ताङ, म्याग्दी,डोल्पा, हुम्ला, मुगु जिल्लामा हालको अवस्थामा संक्रमित छैनन् ।

कोरोना भाईरस संक्रमणका कारण नेपालमा हालसम्म ३२२ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्रै ५ जनाले ज्यान गुमाएका छन् ।

हिजो बुधवार नेपालमा १ हजार २४६ जनामा संक्रमण पुष्टि भएको थियो । १ हजार ८१८ जना संक्रमणमुक्त भएका थिए भने ५ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?