१७ अर्ब हाराहारीमा राजश्व संकलन : लक्ष्यको ७७ प्रतिशत

काठमाडौं । कोरोना महामारीकाबीच झण्डै १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । आन्तरिक राजश्व विभागले भदौ २५ गते बिहीवारसम्म लक्ष्यको ७७ प्रतिशत अर्थात १७ अर्ब हाराहारीमा राजश्व संकलन गरेको हो ।

गत भदौ २४ गतेसम्ममा १२ अर्ब हाराहारी राजश्व संकलन भएकोमा २५ गते करिब ५ अर्ब राजश्व उठेको विभागले जनाएको छ । विभागले भदौ महिनाभरमा २१ अर्ब ९८ करोड राजश्व संकलन गर्ने लक्ष्य राखिएको थियो ।

आन्तरिक राजश्व विभागले भदौ २५ भित्रै कर चुक्ता र विवरण पेश गर्ने समयावधि कायम गरेको थियो । कोरोना महामारीको जोखिम न्यूनिकरणका लागि काठमाडौं उपत्यकामा भदौ ३ गते बाट जारी निषेधाज्ञा भदौ २४ गते राति १२ बजेसम्मको लागि लागू गरिएको थियो । भने आगामी भदौ ३१ गतेसम्मका लागि निषेधाज्ञा खुला गरिएको छ ।

पछिल्लो समयको मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने पहिलो म्याद बिहीबार (भदौ २५) रहेको थियो ।

निषेधाज्ञाकै अवधिमा पनि १७ अर्ब राजश्व संकलन हुनु सन्तोषजनक रहेको विभागले बताएको छ । विभागका अनुसार साउन महिनामा ३५ अर्ब तथा भदौमा १७ अर्बगरी चालू आर्थिक वर्षको दुई महिनामा ५२ अर्ब रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

त्यसो त विभागले साउन र भदौमा ५७ अर्ब राजश्व उठाउने लक्ष्य थियो । दुई महिनामा विभागले लक्ष्यको ९१ प्रतिशत बढी राजश्व उठाएको विभागले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार बुधवारसम्म सरकारी खातामा ८९ अर्ब ६९ करोड आम्दानी भएको छ भने यसअवधिमा सरकारले ४९ अर्ब ५८ करोड बजेट खर्च गरेको छ ।

साथै अब विभागले कर भुक्तानीको समयावधि नथपेककाले अब कर चुक्ता आउनेलाई नियमानुसार जरीवाना लिइने बताएको छ। निजी क्षेत्रका व्यवसायीहरुले राजश्व संकलनको समयावधि थप गर्नका लागि माग गरेपनि सरकारले थपेको थिएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?