व्यवस्थित तटबन्धनको माग गर्दै मुख्यमन्त्री राईलाई ज्ञापनपत्र

मोरङ, २४ फागुन । वर्षेनी वर्षायाममा दुुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले  १ नं प्रदेशका मुुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुझाएका छन् ।बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समितिमार्फत सुनसरीको इटहरीमा मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । समितिका संयोजक मानबहादुुर श्रेष्ठ, मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सांसद कुुशल लिम्बू, नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मिक्लाजुुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यसहितको टोलीले मुुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै संयोजक श्रेष्ठले एक साताभित्रमा तटबन्धन निर्माणको काम शुरु नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । मिक्लाजुुङ गाउँपालिकाको मुुहानदेखि नेपाल भारतको सिमानासम्मको सो खोलाको दायाँबायाँ दीर्घकालीन तटबन्धनको माग गर्दै टोलीले ज्ञापनपत्र बुझाएको हो ।वर्षा लाग्न केही महिनामात्र बाँकी रहेकाले तत्काल रु २५ करोड बजेट निकासा गरी जोखिमपूर्ण स्थानमा तटबन्धन गर्न माग गरिएको छ । बक्राहा खोला नियन्त्रणका लागि रु चार अर्ब बराबरको गुरुयोजना स्वीकृत भए पनि बजेट नआउँदा समस्या भएको संयोजक श्रेष्ठले बताए ।चीन सरकारको सहयोगमा २५ वर्ष अघि सो खोलामा लगाएको तटबन्ध जीर्ण भएपछि यस क्षेत्रका हजारौँ बासिन्दाले वर्षेनी बाढीको पीडा भोग्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?