काठमाडौं । रुकुम (पूर्व) मा यस वर्ष आलु उत्पादनमा कमी आएको छ । सबैभन्दा बढी आलु उत्पादन हुने जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिकामा यस वर्ष आलु उत्पादनमा आधाभन्दा बढीले कमी आएको छ ।
गत वर्ष गाउँपालिकाभरमा एक हजार २०० देखि एक हजार ५०० क्विन्टलसम्म आलु उत्पादन भएकोमा यस वर्ष भने जम्मा ७०० देखि ८०० क्विन्टलमात्र उत्पादन भएको गाउँपालिकाले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष ३५ देखि ४० प्रतिशतले आलु उत्पादनमा गिरावट आएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक सहायक सन्तोष ओलीले बताए ।
गएको वर्षमा २२ क्विन्टल आलु उत्पादन गर्नुभएका वडा नम्बर १० का मोनध्वया रोकाले यस वर्ष भने जम्मा १६ क्विन्टल मात्र आलु उत्पादन भएको बताए । उनी जस्तै वडा नम्बर १ मैकोटकी समसाली पुन पनि आलु उत्पादनमा कमी आउँदा चिन्तित छन् । अहिले मात्र नभई बर्सेनि आलु उत्पादनमा गिरावट आएको किसानहरुले बताएका छन् ।
पुथाउत्तरगङ्गा गाउँपालिकावासीका लागि आलु मकैपछिको दोस्रो प्रमुख बाली हो । यस वर्ष आलु उत्पादनमा पनि गिरावट आएको र मकै सलह किराले सखाप पारेपछि नागरिकहरु झन समस्यामा परेका छन् । “सलहले गरेको क्षतिले समस्यामा त थियौँ नै भएको अलिअलि मकै पनि वर्षासँगै हावाहुरीले सखाप पारेपछि खेतबारी रित्तै भएको छ”, पुथाउत्तरगङ्गा–८ का रमन बुढाले भने ।
यस वर्ष अत्यधिक वर्षाका कारण आलु उत्पादनमा कमी आएको कृषि शाखाले जनाएको छ । प्रतिकूल मौसमका साथै प्राविधिक ज्ञानको कमी, माटो परीक्षण नगरी खेती गर्ने परम्परा र रोग लागेर पनि आलु उत्पादनमा गिरावट आएको उनले बताए । गाउँपालिकाले अहिले कृषि प्राविधिकहरु पनि गाउँगाउँमा खटाएको जनाएको छ । गाउँपालिकाले जैविक उत्पादनलाई जोड दिने भन्दै विषादी प्रयोगमा भने निषेध गरेको छ ।
यहाँ उत्पादित आलु जिल्लाको विभिन्न ठाउँका साथै, रुकुम९पश्चिम०, दाङ, बागलुङ र काठमाडौँसमेत पुग्ने गरेको छ ।
- रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया