काठमाडौँ, २४ फागुन- संविधान कार्यान्वयनका क्रममा तीनै तहको निर्वाचनपछि बनेको सरकारको पहिलो पाहुना बने पाकिस्तानका प्रधानमन्त्री शाहिद खकान अब्बासी । संयोग नै होला, प्रतिनिधिसभाको पहिलो बैठक संसद् भवनमा चलिरहँदा राजनीतिक अस्थिरताले जेलिएको र ‘आतंकवाद एवं उग्रवाद’ सँग जुधिरहेको मुलुकका कार्यकारी प्रमुख नेपाल ओर्लिए । दसवर्षे माओवादी विद्रोह र लामो राजनीतिक उतारचढावपछि स्थायित्वतर्फ उन्मुख रहेको भन्दै अब्बासी नयाँ प्रधानमन्त्रीलाई शुभकामना दिन अचानक काठमाडौं ओर्लिए, कान्तिपुरमा खबर छ ।भ्रमणको कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । केपी ओली प्रधानमन्त्री चयन हुनेबित्तिकै शुभकामना सन्देश दिएसँगै उनले भेटेर खुसी साट्ने इच्छा व्यक्त गरे । उनको इच्छालाई प्रधानमन्त्री ओलीले स्वीकार गरे । सम्बन्धित निकायले त्यसमा अडेर आफ्नो काम अघि बढाए । जसले गर्दा २४ वर्षपछि नेपालमा पाकिस्तानका तर्फबाट दुईपक्षीय भ्रमण भयो । हुन त यसबीच सार्क शिखर सम्मेलनमा सहभागी हुन या भुटान जाँदा ट्रान्जिटमा उच्चस्तरको भ्रमण भने भएका थिए । अहिलेको भ्रमणलाई सद्भावना भ्रमणभन्दा माथिल्लो भनिएको छ । १९ घण्टा काठमाडौंमा रहँदा अब्बासीले आफ्नो चासो र सन्देश स्पष्ट मात्र पारेनन्, क्षेत्रीय सन्तुलनको खाकासमेत प्रस्तुत गरे । यद्यपि उनी आउने दिनसम्म पनि उनको भ्रमण किन र केका लागि भन्ने स्पष्ट थिएन । उनको छलफल र प्रस्तुतिले भने भ्रमणको औचित्य लुकिरहन सकेन ।पाकिस्तानका सञ्चार माध्यम नियाल्ने हो भने उनले काश्मीरको विषयमा नेपालको साथ खोजेका छन् । हरेक वर्ष काश्मीर डे मनाउँदै आएको पाकिस्तानले राष्ट्रसंघ भावनालाई ध्यान दिनुपर्ने बताउँदै आएको थियो । काश्मीर मात्र होइन, सार्क र भारत–पाकिस्तान मामिलामा पनि नेपालले मध्यस्थता गर्न सक्ने धारणा उनले व्यक्त गरेको बताइएको छ । उनले काश्मीर र सार्क शिखर सम्मेलनमा नेपालको बलियो समर्थन खोजेको विषय पाकिस्तानका सञ्चार माध्यमले बाहिर ल्याएका छन् । काश्मीरको विषयले भारत र पाकिस्तानको सम्बन्ध शत्रुवत् छ । भेटवार्तामा सहभागी एक कूटनीतिज्ञले भने, ‘उहाँले आफ्नो धारणा राख्नुभयो । तर हामीले यसमा बोलेका छैनौं । सार्कको विषयमा हामी गम्भीर छौं ।’अब्बासीले यहाँ रहँदा राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, सरकार साझेदार दल माओवादी केन्द्रका अध्यक्ष र प्रतिपक्ष दलका केही नेताहरूसँग भेटवार्ता गरे । प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवासँग भेट गर्न नसके पनि देउवाका प्रतिनिधिसँग भने उनी राम्रै गफिए । नयाँ सरकारलाई बधाई दिने बहाना देखिए पनि भ्रमणको दायरा निकै फराकिलो थियो । उनको भ्रमण नेपाल र पाकिस्तान सम्बन्धका अलावा यस क्षेत्रको राजनीतिमा बढी केन्द्रित भएको सहभागीहरूको कुराकानीबाट बुझ्न सकिन्छ । विगत डेढ वर्षदेखि सार्क सम्मेलन गराउन नसकेको पाकिस्तानले यसमा नेपालको साथ खोजेको छ । सार्कको विषयमा मात्र होइन, चीनसँग पाकिस्तानले बढाएको सहकार्य र त्यसबाट भएको फाइदाको ‘पोको’ पनि उनले फुकाए । त्यो पोकोले यो क्षेत्रमा छुट्टै प्रकारको राजनीतिक तरंग ल्याउने देखिन्छ ।अब्बासीले निर्धक्क चीनसँगको सहकार्यले आफ्नो मुलुकको विकास प्रक्रिया अघि बढेको समेत बताए । चीनसँगको सहकार्यले पाकिस्तानले विकासको लक्ष्य चुमेको सन्देश दिनु चानचुने विषय होइन । चीन–पाकिस्तान आर्थिक करिडोर (सिपेक) र आफ्नो धारणा उनले पस्किए । चीनले अघि बढाएको बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) को औचित्यसमेत उनले सुनाए । त्यो अभियानबाट यस क्षेत्रका मुलुकले फाइदा लिन सक्ने उनले बताएको सहभागीहरूले सुनाए । भेटका क्रममा सार्कलाई सक्रिय बनाउने र दुई देशको आपसी हित झन् उचाइमा लैजाने विषयमा जोड दिए । उनको भ्रमण यो क्षेत्रमा पाकिस्तान पनि उत्तिकै सक्रिय छ भन्ने सन्देश नै हो । त्यसका लागि पाकिस्तानले नेपालको साथ खोजेको यथार्थ पनि छिपेको छैन । अन्तर्राष्ट्रिय मात्र होइन, क्षेत्रीय राजनीतिक बदलाव र तत्काल एवं दीर्घकालमा पर्ने प्रभाव पनि यसमा झल्किन्छ । सार्कमा भारतको प्रभाव रहेको र त्यो छायाबाट बाहिर निस्कन सक्नुपर्ने सन्देश उनले दिन खोजेको भेटिन्छ ।कम्युनिस्ट गठबन्धन सरकार बन्ने निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर दिएको सन्देशको अर्को पाटोका रूपमा अब्बासीको भ्रमणलाई हेर्न सकिन्छ । भारतले आफ्नो उपस्थिति नेपालमा बढाउन थालेपछि पाकिस्तानले पनि यो क्षेत्रमाआफ्नो ‘प्रोएक्टिभ’ र ‘आउटरिच’ कूटनीति अवलम्बन गर्ने बताइसकेको छ । यसमा उसलाई अन्य शक्ति मुलुकको साथ पनि हुन सक्छ । पाकिस्तानमा पनि निर्वाचन नजिकिएको अवस्थामा आफ्नो क्षेत्रीय कूटनीतिक पहुँच र आन्तरिक खपतका लागि पनि यो यात्रा रोजेको आकलन गर्न सकिन्छ । साथै चीन, पाकिस्तान र नेपालको सहकार्य अघि बढाउन वर्तमान सरकारसँग कत्तिको सहज हुन्छ भनेर ‘नाडी’ छाम्ने घुमाउरो प्रयास अमेरिकी विश्वविद्यालयमा अध्ययन गरेर खारिएका अब्बासीमार्फत भएको हुन सक्ने आकलन परराष्ट्र अधिकारीकै छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया