काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेजाब (एसिड) पिडितहरूले माग गरेअनुरूप अमानवीय र जघन्य अपराधका दोषी माथि कारबाही गर्न अध्यादेशमार्फत् तत्काल नयाँ कानून बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
त्यसका लागि प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानून मस्यौदा गरिसक्न पनि कानूनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन समेत दिएका छन् ।
प्रधानमन्त्री ओलीले अपराधीको सम्पत्ती रोक्का गरी उपचार गर्ने र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था गरिने समेत बताएका छन् ।
पछिल्लो समय देशभर एसिड आक्रमणका घटनाहरु बढिरहेका छन् । यसैबीच आज प्रम ओलीले एसिड आक्रमणमा परेकामध्ये १२ जना पीडितहरू सहभागी विशेष कार्यक्रममा प्रधानमन्त्रीले वीर र शिक्षण अस्पतालमा उपचारको प्रबन्ध मिलाउने , पीडितहरूको सम्पूर्ण खर्च सरकारले बेहोर्ने र नियमित प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत सरकारले गर्ने घोषणा गरेका छन् ।
त्यस्तै आक्रमणपछि पढ्न चाहनेहरूका लागि निशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनले बताए । साथै, उचित तालीम, रोजगारी, व्यवसाय र जिविकाको प्रबन्ध सरकारले मिलाउने समेत उनले कार्यक्रममा जानकारी गराएका छन्।
त्यतिमात्र नभएर व्यवसाय गर्न चाहनेहरुका लागि सहुलियतपूर्ण ऋण दिएर व्यवसाय गर्न प्रोत्साहित गरिने बताए ।
हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।
सभ्य समाज निर्माण गर्न सरकारले एसिड आक्रमणका कुनै घटना नै हुन नदिने तथा आगामी दिनमा यस्तो पीडा कसैले भोग्न नपर्ने स्थिति सिर्जना गर्न सरकार लागिपर्ने स्पष्ट पार्दै प्रधानमन्त्रीले हरेस नखाई अघि बढ्न सहभागीहरूलाई आश्वस्त गरेका छन् ।
हाल नेपालमा एसिड आक्रमणका विभिन्न १७ वटा घटनामा परी १९ जना एसिड पीडितहरू रहेको बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया