काठमाडौं – प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनको लागि स्थानीय पालिकाहरुलाई थप रकम उपलब्ध गराएको छ । प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनको लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशासन लगायतलाई आवश्यक रकम पठाएको हो । विभिन्न पालिका तथा अस्पतालहरुलाई प्रदेश सरकारले एक करोड १० लाख रकम पठाएको छ ।
मोरङका सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०/१० लाख रुपैयाँ , धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५/५ लाख रुपैयाँका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको हो । त्यस्तै चौदण्डीगढी नगरपालिकालाई १० लाख रुपैयाँ , गौरीगञ्ज र कमल गाउँपालिकालाई ५/५ लाख रुपैयाँ रकम प्रदेश सरकारले पठाएको छ ।
इलाम अस्पताललाई १० लाख रुपैयाँ , उदयपुर अस्पतालाई १५ लाख रुपैयाँ , झुम्का कारागारलाई १० लाख रुपैयाँ रकम पठाएको छ । सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ्ग सेन्टरको व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख रुपैयाँ र प्रदेश प्रहरी कार्यालय परिसर भित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रुपैयाँ रकम प्रदेश सरकारले कोरोना जनसुरक्षा कोषबाट उपलब्ध गराएको हो ।
स्थानीय पालिकाहरुको आवश्यकता र माग बमोजिक प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए।
कोभिड १९ महामारीलाई पराजित गर्न तीनै तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य रहेको उनको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया