स्थिर ब्याज दरमा बैङ्कर र सेवाग्राही सकारात्मक

नेपाल राष्ट्र बैङ्कले मङ्गलबार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा घर तथा गाडी कर्जामा स्थिर ब्याज दर कायम गर्ने व्यवस्थालाई बैङ्कर तथा व्यवसायीले सकारात्मक रूपमा लिएका छन् ।

राष्ट्र बैङ्कको निर्देशिकामा एक वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाको ब्याज दर परिवर्तन नहुने गरी स्थिर ब्याज दर कायम गर्नुपर्ने छ भनी गरिएको व्यवस्थाले बैङ्कका ऋणीलाई निकै राहत पुग्ने विश्वास गरिएको छ ।
यस्तो कर्जा व्यक्तिको नाममा प्रवाह भएको घर कर्जा, गाडी कर्जालगायत कुनै पनि आवधिक किस्तामा भुक्तानी हुनेगरी प्रवाह गरिएका वा हुने एक वर्षभन्दा बढीको भुक्तानी अवधि भएका कर्जामा लागू हुने उल्लेख छ ।
८ देखि ९ प्रतिशतमा गाडी कर्जा भनेर बैङ्कहरूले कर्जा प्रवाह गर्ने र पछि आफूखुसी १५ देखि १६ प्रतिशतसम्म पु¥याउने प्रवृत्तिलाई नयाँ निर्देशिकाले रोकेको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा)का अध्यक्ष कृष्णप्रसाद दुलाल बताउनुहुन्छ ।
यस व्यवस्थाले आगामी दिनमा अटोमोबाइलको बजार विस्तार हुनेमा उहाँ आशावादी हुनुहुन्छ ।
त्यस्तै सवारी कर्जामा हाल ५० प्रतिशत मात्र कर्जा उपलब्ध हुने व्यवस्थालाई पनि संशोधन गरेर डाउन पेमेन्ट १० प्रतिशतमा झार्नुपर्ने नाडाको माग रहेको उहाँ बताउनुहुन्छ ।
नेपाल राष्ट्र बैङ्कको यो प्रावधानलाई बैङ्करले पनि निकै सकारात्मक रूपमा लिएको नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विदेशमा यस्तो कर्जा स्थिर वा परिवर्तनीय दुवै थरी हुने गरेकामा नेपालमा ढिलै भए पनि सुरुवात हुनु निकै सकारात्मक र सान्दर्भिक छ । ” गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?