काठमाडौं । नेपाली कांग्रेसभित्र पछिल्लो समयमा देखिएका विवाद र भागबण्डाको राजनीतिलाई अन्त्य गर्दै पार्टीलाई विधिसम्मत ढङ्गबाट अगाडि बढाउन आग्रह गरिएको छ । नेपाली राजनीतिका शिखर व्यक्तित्व बिपी कोइरालाको १०७ औं जन्मजयन्तीको अवसरमा प्रजातान्त्रिक विचार समाजले आज विज्ञप्ति जारी गरी लोकतान्त्रिक पार्टीमा कुनै पनि विचारलाई लिएर छलफल र बहस भएपनि विधि र प्रक्रियाअनुसार गतिविधि अगाडि बढाउन आग्रह गरेको हो ।
प्रमुख प्रतिपक्षमा रहेको नेपाली काँग्रेसको तर्फबाट जुन किसिमले अहिले खवरदारी गर्नुपर्ने हो, त्यसो हुन नसकेको भन्दै देशको वर्तमान सङ्कटको बेला कांग्रेस आन्तरिक विवादमा रुमलिरहेको समाजको भनाइ छ । विज्ञतिमा भनिएको छ, ‘मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी विधि र पद्दतिमा हिँडेर अरु दललाई समेत यस विपरीत नहिड्न सचेत गराउनुपर्नेमा आफैँ नीति नियम मिचेर हिँड्न खोजेको त होइन भन्ने भान परिरहेको छ ।’
बिपीको राजनीतिक, आर्थिक र सामाजिक सोच र चिन्तन मुलुकको विकासका लागि सान्दर्भिक रहेको जनाउँदै समाजले त्यसलाई पूरा गराउने कार्यमा बिपी विचारको नेतृत्व गरिरहेको दल कांग्रेसले अगुवाइ गर्नुपर्नेमा जोड दिएको छ । समाजले कोभिड–१९ सङक्रमणबाट पार पाउन वा त्यसका विरुद्ध लड्न सबै राजनीतिक दललाई आग्रह समेत गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया