लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले महानगरीय प्रहरी परिसर भक्तपुरको सहकार्यमा ठूलो परिमाणमा लागूऔषधसहित तीनजनालाई आज बिहान भक्तपुरको सल्लाघारीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसेका ३६ वर्षीय विष्णु प्रधान, सोही ठाउँका ३७ वर्षीय डम्बरबहादुर प्रधान र सिन्धुपाल्चोक भोटेकोशीका ३२ वर्षीय शङ्कर खड्का रहेका छन् ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले ना ३ ख ९८९ नम्बरको कन्टेनरमा लुकाएर लागूऔषध कारोबार गरेको सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

“सल्लाघारीमा लागूऔषधसहित डम्बर र विष्णुलाई पक्राउ गरेपनि लागूऔषध कारोबारमा संलग्न शङ्करलाई भने बुढानिलकण्ठबाट पक्राउ गरेका हौँ”,प्रवउ थापाले भने । कन्टेनरको सिटमुनी लुकाएर ल्याएको अवस्थामा नियन्त्रणमा लिएको उनको भनाई छ । प्रहरीले पक्राउ व्यक्तिसँग दुई हजार ९५० एम्पुल डाईजेपाम, तीन हजार एम्पुल नाईट्रोभेट, दुई हजार ९५० एम्पुल प्रोमाथाजिन, एक हजार ४०० एम्पुल नुर्फिन र एक हजार ५०० एम्पुल बुफ्रोपिन बरामद गरेको छ । पक्राउ परेकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?