भक्तपुरमा ५८ जनालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा भक्तपुर जिल्लामा एकैपटक ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार काठमाडौं उपत्यकामा कोरोना संक्रमण पुष्टि भएका ३९६ जना कोरोना संक्रमित मध्ये ५८ जना कोरोना संक्रमित भक्तपुरका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच नेपालमा आज (मंगलवार) एकैपटक ९०२ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ४८ हजार १३८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३०६ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार २८७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ । नेपालमा कुल संक्रमित मध्ये ६८ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन् ।

नेपालमा हिजो (सोमवार) ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?