के चीनले बनाएको कोरोना भाइरस विरुद्धको खोपले ३ वर्षसम्म सुरक्षा दिन्छ ?

काठमाडौं – गत अंग्रेजी वर्षको अन्तिम साताबाट चीनको वुहान शहरको हुवेई प्रान्तको वुहान शहरबाट फैलिएको कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमणको कारण विश्व त्राहिमाम छ । मानिसहरु आत्तिएका छन् । दिनानुदिन बढीरहेको संक्रमित र मृतकको दरले स्थिती अझै भयावह हुनसक्ने देखाएको छ । लामो समयसम्म विश्वका अधिकांश देशले गरेका लकडाउन, निषेधाज्ञा, सटडाउन, कर्फ्यू जस्ता प्रयोगले जनतामा निराशा छाएको छ । घरभित्रैको दैनिकी, सकिँदो सञ्चित अन्न लगायतका कारणले मानिसमा मनोवैज्ञानिक चिन्ता बढी नै देखिन्छ ।

यस भाइरसविरुद्धको भ्याक्सिन बनाउनेको लागि विश्वका नामूद डाक्टर, वैज्ञानिकहरु अहोरात्र खटिएका छन् । तर पछिल्लो केहि महिनादेखि विभिन्न ट्रायलमा रहेको भ्याक्सिन पनि कहिलेसम्म बजारमा आउने हो थाहा छैन । यदि त्यस्ता भ्याक्सिन वा औषधीहरु आईहालेको खण्डमा हामीले त्यसको प्रयोग गर्न पाउँछौँ या पाउँदैनौँ त्यो पनि अन्योल छ । तर भाईरसको उद्गमस्थल चीनमा भने मानिसहरु केहि महिनापहिलेदेखि नै सामान्य दैनिकीमा फर्कन थालिसकेका छन् । सामुन्द्रिक तहटबन्द, स्विमीङ पुल, सिनेमा , स्कुल, बजारमा चहलपहल देखिन थालेको छ ।

कसरी त ?

आपत्तकालिन योजना अन्तर्गत चीनले आफ्ना हजारौँ नागरिकलाई कोरोना भाइरस विरुद्धका दुई प्रयोगात्मक खोप दिइएकोमा हालसम्म कसैलाई पनि संक्रमण देखिएको छैन ।

यो चीनको लागि र सिंगो विश्वको लागि पनि ठूलो उपलब्धी हो । चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी) का कमिसन फर डिसिप्लीनरी इन्सपेक्सनका सेक्रेटरी झोउ सोङले आफ्नो कम्पनीले निर्माण गरेका कोरोना भाइरस विरुद्धको दुई सम्भावित खोपले मानिसहरुलाई तीन वर्षसम्म भाइरसबाट सुरक्षित राख्ने दाबी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चिनियाँ राष्ट्रिय रेडियोमा दिएको अन्तर्वार्ताको क्रममा कम्पनीले उत्पादन गरेका खोपहरु आपत्कालिन योजना अन्र्तगत प्रयोग गरिएको बताउँदै सोङले हजारौँलाई दिईएको यो खोपका कारण कसैमा नकारात्मक प्रभाव वा संक्रमण भएको नपाइएको पनि स्पष्ट पारेका छन् ।

उक्त खोपलाई सुरुमा सीएनबीजीको माउ कम्पनी चाइना नेसनल फर्मास्युटिकल ग्रुप (सिनोफार्म) का १८० कर्मचारीमा गरिएको थियो । तर यसको सुरक्षा र प्रभावकारिता निर्क्यौल गर्नका लागि सीएनबीजीका दुई खोप अझै तेस्रो चरणको परीक्षणमा रहेको छ । यूएई, बहराइन, पेरु, मोरोक्को, अर्जेन्टिना र जोर्डनमा यसको परीक्षण भइरहेको छ।

चीनमा गत जुलाईको अन्तिममा शुरु गरिएको आपत्कालिन योजनाअन्तर्गत चिकित्साकर्मी, महामारीमा खटिएका अधिकारीहरु,सीमा निरीक्षण एजेन्ट, सेना, कुटनीतिक नियोगका अधिकारी लगायतलाई खोप दिने अनुमति दिइएको थियो ।

यसमा देशबाहिर काम गर्ने हजारौँ चिनियाँ सामेल रहेको र उनीहरुमा हालसम्म संक्रमण नदेखिनुले यस खोपको प्रभावकारिता पुष्टि भएको बताए ।

हाल विश्वभर ८ वटा खोप तेस्रो चरणको परीक्षणमा रहेका छन् ।

यसमध्ये चारवटा चिनियाँ कम्पनीद्वारा निर्मित खोप रहेका छन् । तीनवटा चिनियाँ खोप – दुईवटा सीएनबीजी र एउटा सिनोभाकले बनाएको खोपलाई सर्वसाधारणमा आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ भने चौथोलाई सेनामाथि प्रयोगका लागि अनुमति छ ।

सिनोभाकको खोप हाल ब्राजिल र इन्डोनेसियामा प्रयोग भइरहेको छ । चीनको नागरिक उड्डयन प्राधिकरणले आफ्ना एयरलाइनका कर्मचारीलाई यी खोप लिनका लागि अनुरोध गरेको छ ।

यो खोप लगाएपछि वार्षिक रुपमा लिइने अन्य फ्लूको खोप पनि लगाउन नपर्ने उनको भनाई छ । उनले यो खोप कोरोनाभाइरसका हालसम्म पत्ता लागेका सबै म्युटेसनका लागि प्रभावकारी रहेको जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?