पोखरा औद्योगिक क्षेत्रको एकै उद्योगका ५८ कर्मचारीमा कोरोना पुष्टि

पोखरा । पोखरा औद्योगिक क्षेत्रको एक उद्योगका कार्यरत ५८ मजदूरमा कोरोना सङ्क्रमण देखिएको छ । पोखरा फुड्स प्रालिमा कार्यरत मजदूर कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएको पोखरा औद्योगिक क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष भूषणकुमार उपाध्यायले जानकारी दिए।

यसअघि उक्त उद्योगमा कार्यरत ३३ जनामा सङ्क्रमण पुष्टि भएको थियो । आज सोमबार बिहान भएको परीक्षणबाट थप २५ जनामा सङ्क्रमण देखिएको हो ।

उपाध्यायका अनुसार औद्योगिक क्षेत्रमा ७६ उद्योग सञ्चालनमा छन् । हाल पोखरा फुड्समा कार्यरत मजदूरमा मात्र सङ्क्रमण देखिएको हो । उक्त उद्योग हाल बन्द गरिएको छ । यससँगै रम्बा जनरल प्रालि र पोखरा नुडल्स पनि अहिले बन्द छन् । यी सबैका सञ्चालक पूर्वमन्त्री हरिप्रसाद पाण्डे रहेका छन् ।

यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार आज बिहान मात्र पोखरामा ३१ सहित प्रदेशभर ६७ जनामा कोरोना पुष्टि भएको छ । कास्कीको पोखरामा ३१, नवलपुरमा १५, गोरखामा १८ र तनहुँमा तीन जनामा कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित दुई हजार ५९८ पुगेका छन् । नयाँ देखिएका ६७ सङ्क्रमित सबै कन्टयाक ट्रेसिङका आधारमा सङ्क्रमित भएका हुन् ।

कर्णाली– आयुर्वेद शाखा जुम्लाले यहाँका कोरोना सङ्क्रमितलाई योगाभ्यास गराउन थालेको छ । यहाँका विभिन्न आइसोलेशनमा रहेका सङ्क्रमितको प्रतिरक्षा प्रणालीमा सहयोग पु¥याउने उद्देश्यका साथ योगाभ्यास गराइएको हो ।

जुम्लाको चन्दननाथ नगरपालिकास्थित निर्माण व्यवसायी सङ्घको कक्षमा रहेको आइसोलेसनका कोरोना सङ्क्रमितलाई अहिले हरेक बिहान योगाभ्यास गर्न थालेका छन् । यहाँका विभिन्न आइसोलेशनमा रहेका कोरोना सङ्क्रमितलाई हरेक बिहान योगाभ्यास गराउन थालिएको आयुर्वेद शाखा जुम्लाका प्रमुख तथा आयुर्वेद चिकित्सक डा प्रतिभा शर्माले जानकारी दिए ।

“यसअघि जुम्ला हिमा गाउँपालिकाको कालिकाखेतुको आइसोलेशनका ४० सङ्क्रमितहरुलाई योग अभ्यास गराइयो”, रासससँग कुरा गर्दै डा शर्माले भने, “अहिले यहाँका २७ सङ्क्रमितलाई अभ्यास गराइरहेका छौंँ । सबैले निकै आनन्द लिएर अभ्यास गरिरहनुभएको छ ।”

योगाभ्यासले मानव जीवनलाई अनुशासित बनाउन, शुद्ध पार्न र मन शान्ति दिन सघाउने भएकाले हरेक व्यक्तिले गर्नुपर्नेमा उनको जोड छ । उनले अगाडि भने, “रोग प्रतिरक्षा प्रणाली कम भएपछि असर पार्न सक्ने अवस्थालाई ध्यान दिएर तीनदेखि सात दिनसम्मको योग अभ्यास शुरु गर्दा सङ्क्रमित निकै रुचि राखेर सहभागी हुनुभएको छ । हामीले सबै कोरोना सङ्क्रमितलाई अश्वगन्धा, स्टीमधु, अमला जस्ता आयुर्वेदिक औषधि पनि वितरण गर्दै आएका छौंँ ।”

उनका अनुसार यसअघि जुम्लाका विभिन्न क्वारेन्टिनका ८०० व्यक्तिलाई योगाभ्यास गराइसकिएको छ ।

आयुर्वेद शाखा जुम्लाका अध्यक्ष मनोज बुढाथोकी मगरले व्यक्तिले सही तरिकाले योगाभ्यास गरेमा उसको परिवार पनि लाभान्वित हुने बताए ।

सुदूरपश्चिम–कैलाली लम्कीचुहा नगरपालिकाको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामा आज कोरोना सङ्क्रमणको पुष्टि भएको छ । नगरपालिका, स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले शिक्षालयका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए । शिक्षालयका १२९ जनाको नतिजा नेगेटिभ आएको जनाइएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा आज गरिएको ४४५ नमूनाको परीक्षणमा ७६ जनामा सङ्क्रमित पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । कोभिड–१९ बाट प्रदेशमा सबैभन्दा बढी प्रभावित कैलालीमा कूल सङ्क्रमित र सक्रिय सङ्क्रमित बिरामी बढ्दै गएका छन् । आजसम्म कैलालीमा छ, बझाङ र बाजुरामा दुईदुई तथा अछाममा एक गरी प्रदेशमा ११ जनाको मृत्यु भएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?