युवराजलाई राष्ट्रिय सभा लैजान प्रचण्डले रोके

विवाद समाधानको उपाय सुझाउन बनेको कार्यदलको प्रतिवेदनमा छलफल गर्न बिहीबार बोलाइएको नेकपा सचिवालय बैठक राष्ट्रिय सभाको रिक्त एक जना मनोनीत सदस्यमा कसलाई लैजाने भन्नेमा केन्द्रित हुने भएको छ ।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ भएको दुई घण्टा लामो भेटमा राष्ट्रिय सभामा कसलाई लाने भन्नेमा कुरा नमिलेपछि यो विषयले प्राथमिकता पाउने भएको हो ।
प्रधानमन्त्री ओलीले अर्थमन्त्री युवराज खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेकाले भदौ २० गतेभित्र राष्ट्रिय सभा सदस्य बनाइसक्नुपर्छ ।

त्यसका लागि नेकपा नेतृत्वसँग बिहीबार र शुक्रबार दुई दिन मात्रै समय छ । बिहीबार बस्ने सचिवालय बैठकमा निर्णय गरेर मन्त्रिपरिषद्बाट मनोनयनका लागि उम्मेदवार सिफारिस गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ । तर बुधबार साँझको भेटमा पनि प्रधानमन्त्री ओलीले खतिवडाको पक्षमा अडान राखेको र दाहालले पार्टी सचिवालयको निर्णयअनुसार गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनुपर्ने भनाइ दोहोर्‍याएको उनीहरूनिकट स्रोतले जानकारी दियो । कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?