सबै तहका सरकार मिले मात्र कोभिड जोखिम न्यूनिकरण गर्न सकिन्छ : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले तीनै तहका सरकारले मिलेर कोभिड १९ रोकथाम तथा नियन्त्रणको काम थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्। बुधबार प्रदेश सरकारका सामाजिक विकासमन्त्रीहरुसँग भर्चुअल बैठक गर्दै मन्त्री ढकालले कोभिड १९ रोकथामका लागि भएका कामहरु थप प्रभावकारी र व्यवस्थित बनाउनका लागि तीनै तहले समन्वात्मक काम गर्नुपर्ने बताए ।

उनले जनस्वास्थ्यको मापदण्ड पालनाका निम्ति सचेतनाको काम प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले कोभिड १९ को अहिलेसम्म कुनै खोपको विकास नभैसकेका कारण सावधानी अपनाउनुको विकल्प नभएकाले त्यसका लागि प्रदेश र स्थानीय सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताए । मन्त्री ढकालले संघीय सरकारले आवश्यक सबै खालका सहायोग गर्न तयार रहेको भन्दै समस्या समाधानका लागि व्यवहारिक रुपमै प्रभावकारी काम हुनुपर्ने बताए । उनले कोभिड अवस्था रहेसम्म जोखिम भत्ता र बीमाको कुरा जारी रहने बताए । प्राविधिकारण केही समस्या भएर कसैले जोखिम भत्ता नपाएको भएपनि कोभिड १९ को लडाइँमा काम गरेका मान्छेले भत्ताबाट बिमुख हुननपर्ने बताए ।

मन्त्री ढकालले सरकारी प्रयोगशालाहरुले नै दैनिक १८५०० जनाको नमुना परीक्षण गर्न सक्ने क्षमताको विकास गरिएको भन्दै कुनै विशेष कारणभन्दा बाहेक २४ घण्टाभित्रमा रिपोर्ट आउने व्यवास्था मिलाइने बताए । उनले अहिलेको परिस्थितिमा समय तोकेर नै नमुना परीक्षणको रिपोर्ट दिनुको विकल्प नरहेको पनि बताए । आइशोलेसन निर्माणका लागि मात्र सरकारले ३८ करोड बजेट प्रदेश सरकार मार्फत स्थानीय तहमा पठाएको स्मरण गर्दै उनले केन्द्रमा तीन सय बेडको सरुवा रोग अस्पताल र प्रत्येक प्रदेशमा ५० बेडको अस्पताल सञ्चालनका लागि गृहकार्य भैरहेको बताए ।

मन्त्री ढकालले अबदेखि हरेक १५ दिनमा सामाजिक विकासमन्त्रीसँग बैठक गर्ने जानकारी पनि दिनुभयो । भर्चुअल बैठकमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्ण सुवेदी, कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दलबहादुर रावल, प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन र बागमती प्रदेशको सामाजिक विकासमन्त्री युवराज दुलाल सहभागी रहेका थिए ।

प्रदेश १ का सामाजिक विकासमन्त्री कोरोना पोजेटिभ भएर आइशोलेसनमा रहेका र प्रदेश २ का सामाजिक विकासमन्त्रीले समयको व्यवस्थापन गर्न नभ्याएकाले (बुधबारको भर्चुवल बैठकमा सहभागी भएका थिएनन् ।

सामाजिक विकासमन्त्रीहरुले कोभिड १९ व्यवस्थापनका लागि व्यापक काम भए पनि प्रभावकारी समन्वयको अभाव देखिएको भन्दै कोही पनि अलमलमा नपर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?