काठमाडौं । कोरोना संक्रमण मुक्त भएकाहरुलाई एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ उपलब्ध गराउनको लागि नेपाल चिकित्सक संघले अपील गरेको छ ।
कोरोना भाइरस संक्रमण मुक्त भएकाहरुको ‘१ पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने भन्दै संघले त्यस्तो अनुरोध गरेको हो ।
‘कन्भेलेसेन्ट प्लाज्मा थेरापी’ (‘सिपिटी’) कोरोना भाइरस संक्रमणका बिरामीलाई गरिने एउटा उपचार विधि हो ।
यसका लागि कोरोना संक्रमण देखिएर निको भइसकेको १४ दिनपछि पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका व्यक्तिहरुको रगतबाट छुट्याइएको एन्टिबडी (रोगसँग लड्ने तत्व) सहितको ‘प्लाज्मा’ (जुन रगतमा ५५ प्रतिशत हुन्छ) अर्को संक्रमित व्यक्तिलाई दिइने गरिन्छ ।
संघको तर्फबाट देशभरका कोरोना भाइरसबाट संक्रमित भई निको भएर अन्य संक्रमित बिरामीहरुको जीवन रक्षा गर्नका लागि ‘प्लाज्मा’ दान गर्ने सम्पूर्ण व्यक्तिहरुको विवरण संकलन गरी उनीहरुलाई ‘प्रशंसा–पत्र’ सहित उच्च सम्मान गर्ने समेत संघले एक विज्ञप्तिमार्फत जनाएको छ ।
कोरोना मुक्त हुनका लागि उनीहरुले अपनाएको सजगता, घर परिवार तथा समाजले प्रदान गरेको हौसला र आवश्यक उपचारका कारण निको भएको अनुभव र संक्रमित हुँदा सिर्जना भएको मानसिक तनाव लगायतका अनुभवहरुलाई सार्वजनिक गरी अन्य संक्रमितहरुका लागि सहयोग पुर्याउन समेत आग्रह गरेको छ ।
कोरोना महामारीको रोकथामका लागि अन्य औषधिहरु नबनेको अवस्थामा ‘प्लाज्मा’ थेरापी विधिलाई नै उपयुक्त मानिएको छ । कोरोना संक्रमण मुक्त भएकाहरुको ‘१ पिन्ट प्लाज्मा’ को कारण हजारौँको ज्यान बाच्न सक्ने भन्दै सहयोगका लागि संघले आग्रह गरेको हो ।
“कोरोना भाइरस संक्रमणको निदानका लागि हालसम्म प्रभावकारी औषधी तथा इन्जेक्सनको अनुसन्धान भईरहेको विद्यमान अवस्थामा ‘प्लाज्मा’ थेरापी वरदान सावित भएको तथ्यलाई हृदयगंम गर्दै संक्रमित बुवाआमा, दाजुभाई, दिदीबहिनीहरुको जीवन रक्षाका निम्ती कोरोना भाइरसलाई पराजीत गर्नुभएका तपाई सम्पूर्ण योद्धाहरुको ‘१ पिन्ट प्लाज्मा’ बाट हजारौं मानिसलाई जोगाउन सकिने पवित्र कार्यमा संलग्न हुन नेपाल चिकित्सक संघ सबैमा हार्दिक अपिल गर्दछ । यस मानवीय कार्यमा संलग्न हुने तपाईलाई कुनै पनि शारीरिक तथा मानसिक असर नपर्ने र तपाईले गर्नुभएको अमूल्य सहयोग र योगदानका कारण अन्य संक्रमित व्यक्तिहरुको समेत जीवन रक्षामा उल्लेख्य सहयोग पुग्ने व्यहोरा समेत अवगत गराइन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया