अध्यक्ष प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री अब्बासीबीच भेटवार्ता सम्पन्न

काठमाडौं, फागुन २१ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र पाकिस्तानी प्रधानमन्त्री शाहीद खकान अब्बासीबीच भेटवार्ता सम्पन्न भएको छ ।भेटका अवसरमा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री अब्बासीबीच नेपाल र पाकिस्तानबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको थियो ।भेटका अवसरमा नेपाल भ्रमणमा आउनुभएकोमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले पाकिस्तानले नेपालको शान्ति प्रक्रिया, प्राकृतिक प्रकोप, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा पुर¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिएका थिए ।अध्यक्ष प्रचण्डले नेपालले सफलतापूर्वक संघीय संरचना अन्तर्गतका सबै तहको निर्वाचन सम्पन्न गरेको बताउदै अबको प्राथमिकता स्थायित्व, सुशासन, विकास र समृद्धि हासिल गर्ने रहेको बताए । “यो प्रक्रियामा पाकिस्तानबाट हामीले विगत झैं सहयोग चाहेका छौं” अध्यक्षले भने ।अध्यक्ष प्रचण्डले भेटका अवसरमा दक्षिण एशियामा शान्ति, स्थायित्व र समृद्धिका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को महत्वपूर्ण भूमिका बताउदै सार्कले क्षेत्रीयस्तरमा व्यापार, लगानी, पर्यटन तथा कनेक्टिभिटी जस्ता विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको औंल्याएका थिए ।नेपालले सबैखाले आतंकवादको बिरोध गर्दै आएको बताउदै अध्यक्ष प्रचण्डले आतंकवाद, जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, लागु औषधको तस्करी, क्षेत्रीय र अन्तर्राष्ट्रिय विकासका मुद्दामा दुबै देशबीचको सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गरे ।भेटका अवसरमा पाकिस्तानी प्रधानमन्त्री अब्बासीले नेपाल पाकिस्तानको असल छिमेकी रहेको बताउदै निर्वाचन सम्पन्न भएकोमा बधाई दिनुहुँदै नेपालको भविष्य निकै उज्वल हुने धारणा व्यक्त गरे । दक्षिण एशियामा शान्ति, समृद्धिका पक्षमा पाकिस्तान र नेपालले भूमिका खेल्दै आएको बताउदै प्रधानमन्त्री अब्बासीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानको भ्रमणको निम्तो दिएको समेत जानकारी गराए ।पाकिस्तानमा प्राविधिक शिक्षा पढ्न नेपाली विद्यार्थीहरुका लागि छुट्टयाइएको कोटा दोब्बर गरिएको जानकारी गराउदै प्रधानमन्त्री अब्बासीले व्यापार, पर्यटनलगायतका क्षेत्रमा समेत थप सहयोग गर्ने बताए ।अहिले पाकिस्तानको मुख्य चुनौती आतंकवाद रहेको चर्चा गर्दै प्रधानमन्त्री अब्बासीले आतंकवाद दक्षिण एशियाका साझा शत्रु भएको बताए ।पाकिस्तानले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको सम्मेलनको आयोजना गर्ने तयारीमा जुटेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?