काँग्रेस संसदीय दलको उपनेता बने गच्छदार

काठमाडौँ, २१ फागुन- नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नवनिर्वाचित नेता शेरबहादुर देउवाले संसदीय दलको उपनेतामा विजयकुमार गच्छदारलाई मनोनयन गरेका छन् ।सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज सभापति देउवाको अध्यक्षतामा बसेको पहिलो बैठकमा सभापति देउवाले उपनेतामा गच्छदारलाई मनोनयन गरेका हुन् । बैठकमा सभापति देउवाले आफूलाई संसदीय दलको नेता निर्वाचित गरेकामा सांसदलाई धन्यवाद दिनाका साथै संसद्मा सदैव क्रियाशील रहँदै सशक्त भूमिका निर्वाह गर्न निर्देशन दिए । उनले सांसदहरुले संसद्मा निर्वाह गर्ने भूमिका आधारमा पार्टीले मूल्यांकन गर्नेसमेत बताए ।बैठकमा नेता प्रकाशमान सिंहले पार्टीका सभापति देउवालाई संसदीय दलको नेतामा निर्वाचित भएकामा बधाई एवं कार्यकालको शुभकामना दिए ।बैठकले पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्वसभापति कृष्णप्रसाद भट्टराईको सातौँ स्मृति दिवसको पुण्यतिथिमा श्रद्धाञ्जलि प्रस्ताव पारित गरेको छ । श्रद्धाञ्जलि प्रस्तावमा भनिएको छ, “त्याग, बलिदान, निष्ठा, सदाचार र दृढ इच्छाशक्तिका प्रतिमूर्ति कृष्णप्रसाद भट्टराईले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र संसदीय शासन प्रणालीलाई सुदृढ बनाउन योगदान दिनुभएको थियो ।”नेपालको संविधानले निर्दिष्ट गरेको बाटाबाट समृद्ध नेपाल निर्माण गर्ने कार्यमा निरन्तर क्रियाशील रहन नेता भट्टराईको जीवन, दर्शन र संघर्षले सदैव प्रेरित गरिरहने प्रस्तावमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?